• Menu

दुर्गा प्रसाईं सञ्चालक रहेको बी एन्डी सीमा मंसिर २५ देखि एमबीबीएस पठनपाठन, १६ भारतीय विद्यार्थी भर्ना

नेपाल प्रफिट

२०८१ मंसिर ९, ११:३३

दुर्गा प्रसाईं सञ्चालक रहेको बी एन्डी सीमा मंसिर २५ देखि एमबीबीएस पठनपाठन, १६ भारतीय विद्यार्थी भर्ना

झापा । राष्ट्रिय चिकित्सा शिक्षा आयोगबाट स्वीकृति प्राप्त झापाको बी एन्ड सी मेडिकल कलेजमा मंसिर २५ देखि चिकित्सा शास्त्रअन्तर्गत एमबीबीएस (स्नातक तह)को पठनपाठन सुरु हुने भएको छ ।

सर्वोच्च अदालतले २०८० चैत १३ गते बी एन्ड सीलाई सम्बन्धन दिन परमादेश जारी गरेपछि तयारी थालेको मेडिकल कलेजले मंसिर २५ देखिका लागि पठनपाठनको सम्पूर्ण तयारी पूरा गरेको हो ।

सर्वोच्चको परमादेशका आधारमा काठमाडौँ विश्वविद्यालयले सम्बन्धन प्रदान गरेको थियो । चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि बी एन्ड सीलाई ५० विद्यार्थी पढाउन पाउने सिट निर्धारण गरेको छ ।

नियमअनुसार नै विद्यार्थी भर्ना चलिरहेको कलेजका जनसम्पर्क अधिकृत प्रमेश गिरीले जानकारी दिए । पहिलो वर्षमा ५० विद्यार्थीलाई अध्यापन गराउन कलेजले आवश्यक जनशक्ति, भौतिक पूर्वाधार र शैक्षिक सामग्रीको व्यवस्था गरिसकेको उनले बताए ।

कलेजले मेचीनगर नगरपालिका-१२ धाइजनमा विद्यार्थीलाई पठनपाठन गराउन पाँचतले ‘बेसिक साइन्स ब्लक’ तयार गरेको छ भने ‘क्लिनिकल साइन्स’ अध्यापनका लागि बिर्तामोड नगरपालिका-५ स्थित बी एन्ड सी हस्पिटलमा व्यवस्था मिलाइएको जनसम्पर्क अधिकृत गिरीले जानकारी दिए ।

‘एमबीबीएस पठनपाठनका लागि धेरै वर्ष अघिदेखि हामी तयारी अवस्थामा थियौँ,’ उनले भने, ‘धाइजनमा सुविधासम्पन्न साइन्स ब्लक छ । अभ्यास गर्न विद्यार्थीले बी एन्ड सी अस्पताल नै उपयोग गर्न पाउनेछन् ।’

कलेजमा १५० विद्यार्थीलाई सहज रूपमा पठनपाठन गराउने व्यवस्था मिलाइएको छ । मंसिर २५ देखि सुरु हुने पठनपाठनका लागि १६ भारतीय विद्यार्थी भर्ना भइसकेका छन् । नि:शुल्क कोटाका पाँच जना पनि शिक्षा मन्त्रालयमार्फत आइसकेका छन् । अब काठमाडौं विश्वविद्यालयले २९ पठाइदिने कलेज प्रशासनले जनाएको छ ।

अस्पतालका अध्यक्ष डा. रामबाबु गिरि हुन् भने कार्यकारी निर्देशक दुर्गा प्रसाईं हुन् ।

प्रतिक्रिया दिनुहोस्