काठमाडौं । सरकारले पूर्वसचिव रामेश्वर खनालको नेतृत्वमा गठन गरेको उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रका तीन संस्थाका अध्यक्षको प्रतिनिधित्व गराएको छ ।
मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले आयोगका सदस्यमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवाल र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवाललाई नियुक्त गरेको हो ।
मन्त्रिपरिषदको असोज २१ को बैठकले पूर्वसचिव खनालको नेतृत्वमा आयोग गठन गरेको थियो । अर्थ मन्त्रालयको प्रस्तावमा खनालको अध्यक्षतामा विज्ञहरुको पाँच सदस्यीय आयोग गठन गरिएको थियो ।
सुरूमा आयोगका सदस्यहरुमा राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रकाशकुमार श्रेष्ठ, त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख प्रा. डा. रामप्रसाद ज्ञवाली, अर्थविद् डा. विश्वास गौचन र नीति अनुसन्धान प्रतिष्ठानका वरिष्ठ अनुसन्धानकर्ता डा. कल्पना खनाललाई नियुक्त गरिएकोमा निजी क्षेत्रबाट तीन जना थपिएका हुन् ।
आयोगलाई सबै पक्षसँग परामर्श र छलफल गरी नेपालको अर्थतन्त्रलाई परिवर्तित समयअनुसार गतिशील बनाउँदै सही मार्गमा अघि बढाउन आवश्यक सुझाव दिने कार्यभार तोकिएको छ ।