• Menu

नेपालबाट एक दिनका लागि ४० मेगावाट विद्युत बंगलादेश निर्यात, सन् २०२५ जुन १५ बाट नियमित

नेपाल प्रफिट

२०८१ कात्तिक ३०, शुक्रबार १४:१५

नेपालबाट एक दिनका लागि ४० मेगावाट विद्युत बंगलादेश निर्यात, सन् २०२५ जुन १५ बाट नियमित

काठमाडौँ  । २०८१ सालमा नेपालमा उत्पादित बिजुली भारतपछि बंगलादेशतर्फ निर्यात सुरु भएको छ । क्षेत्रीय विद्युत व्यापारमा यो अर्को ऐतिहासिक परिघटना पनि हो ।

नेपालका ऊर्जा, जलस्रोत तथा सिञ्चाइमन्त्री दीपक खड्का, भारतका विद्युतमन्त्री मनोहरलाल र बंगलादेशका विद्युत, ऊर्जा तथा खनिज मन्त्रालयका सल्लाहकार मोहमद फोजुल कबिर खानले भर्चुअल विधिमार्फत संयुक्त रुपमा स्विच अन गरी विद्युत निर्यातको शुभारम्भ गरे । नेपाल र भारतबीचमात्र विद्युत व्यापार हुँदै आएकोमा अब नेपालको विद्युत तेस्रो देशमा विस्तार भएको छ ।

नेपालमा उत्पादित विद्युत भारतको प्रसारण संरचना हुँदै बंगलादेशसम्म पुगेको छ । नेपाल र भारतबीचको पहिलो अन्तरदेशीय ढल्केबर-मुजफ्फरपुर ४०० केभी प्रसारण लाइन हुँदै भारतको मुजफ्फरपुर सबस्टेसनमा विद्युत पुग्नेछ ।

त्यसपछि मुजफ्फरपुर सबस्टेसनबाट भारतको प्रसारण लाइनमार्फत भारत-बंगलादेशबीचको बहरामपुर भारत-भेरमारा बंगलादेश चार सय केभी प्रसारण लाइनमार्फत बंगलादेश विद्युत पुग्नेछ ।

नेपालबाट भारत हुँदै बंगलादेशतर्फ विद्युत निर्यात मध्यान्ह १२:३० बजेबाट सुरु भएको हो । यसवर्ष सन् २०२४ को वर्षायाममा विद्युत निर्यात शुक्रबार राति १२ बजेसम्म मात्र हुनेछ ।

त्यसपछि आगामी वर्ष सन् २०२५ को जुन १५ बाट बंगलादेशतर्फ पुनः विद्युत निर्यात सुरु हुनेछ । भारतको विद्युत मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले त्रिशूली र चिलिमे जलविद्युत आयोजनाबाट उत्पादित क्रमशः १८.६० र २१.४० गरी ४० मेगावाट विद्युत बंगलादेशतर्फ निर्यातका लागि बिहीबार स्वीकृति दिएको थियो ।

केन्द्रीय विद्युत प्राधिकरणले दुई आयोजनाबाट उत्पादित ४० मेगावाट विद्युत सन् २०२९ अक्टोबर २ सम्म बंगलादेश निर्यात स्वीकृति दिएको हो । यी दुवै भारतमा विद्युत निर्यातका लागि स्वीकृति पाइसकेका आयोजनाहरु हुन् ।

नेपाल विद्युत प्राधिकरणले वर्षायामको ६ महिना अर्थात हरेक वर्षको जुन १५-नोभेम्बर १५ सम्म पाँच वर्ष ४० मेगावाट विद्युत अमेरिकी डलरमा बंगलादेशलाई बिक्री गर्नेछ । नेपाल–बंगलादेशबीच विद्युत व्यापार डलरमा हुनेछ ।

प्राधिकरणले बंगलादेश विद्युत बिक्री गरी प्रति युनिट ६.४० अमेरिकी सेन्ट शुक्रबारको विदेशी मुद्रा विनियम दर अनुसार ८ रुपैयाँ ६२ पैसा पाउने छ ।

नेपालले विद्युत बिक्रीबाट पहिलो पटक डलरमा आम्दानी गर्न लागेको हो । भारतसँगको विद्युत व्यापार भारतीय रुपैयाँमा हुँदै आएको छ ।

प्राधिकरणले शुक्रबार साँढे ११ घण्टा बंगलादेशतर्फ ४० मेगावाट विद्युत निर्यातबाट २८ हजार १६० डलर ९ रु ३७ लाख ९३ हजार ४ सय ३३ ० पाउने छ । बंगलादेश निर्यात हुने विद्युतको मूल्य प्राधिकरणले भारतको मुजफ्फरपुर बिन्दुमा पाउने छ ।

ढल्केबरबाट मुजफ्फरपुरसम्मको प्रसारण लाइनको प्राविधिक चुहावट प्राधिकरणले नै बेहोर्नेछ । मुजफ्फरपुर विन्दुपछिको प्रसारण लाइन शुल्क, चुहावट, एनभिभिएन, भारतले लिने ट्रेडिङ मार्जिनलगायतका सम्पूर्ण कर तथा शुल्कहरु बंगलादेशले नै व्यहोर्ने छ ।

नेपालबाट ४० मेगावाट विद्युत भारतीय प्रसारण ग्रिड प्रयोग गरी बंगलादेश लैजानका लागि नेपाल विद्युत प्राधिकरण, एनटिपिसी विद्युत व्यापार निगम एनभिभिएन, भारत र बंगलादेश पावर डेभलप्मेन्ट बोर्ड (बिपिडिबी) बीच गत असोज १७ गते त्रिपक्षीय विद्युत बिक्री सम्झौता भएको थियो ।

त्रिपक्षीय विद्युत बिक्री सम्झौतापछि प्राधिकरणले गत २३ असोजमा बंगलादेश विद्युत निर्यात स्वीकृतिका लागि आयोजनाको सूची भारतको केन्द्रीय विद्युत प्राधिकरणमा पठाएको थियो । भारतको केन्द्रीय विद्युत प्राधिकरण बिहीबार स्वीकृति दिएपछि शुक्रबारबाट विद्युत निर्यात सुरु गरिएको हो ।

कानुनमा भएको व्यवस्था बमोजिम बिपिडिबी १६ पुस २०८० मा नेपालबाट उत्पादित ४० मेगावाट विद्युत बंगलादेश, भारत र नेपालका निकायहरुबीचको त्रिपक्षीय सम्झौताअनुसार हुनेगरी पाँच वर्षसम्म खरिदका लागि बोलपत्र आह्वान गरेको थियो ।

प्राधिकरणले विद्युत बिक्रीका लागि तोकिएको ढाँचामा बिक्री गरिने विद्युत्को दरसहितको बोलपत्रसम्बन्धी कागजात पेस गरेको थियो । प्राधिकरणले पेस गरेको बोलपत्र स्वीकृत भएपछि त्रिपक्षीय विद्युत बिक्री सम्झौताको प्रक्रिया अगाडि बढेको थियो ।