• Menu

छठ पर्वको मुख्य दिन, अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिँदै

नेपाल प्रफिट

२०८१ कात्तिक २२, १७:०६

छठ पर्वको मुख्य दिन, अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिँदै

काठमाडौं । छठ पर्वको मुख्य दिन  बिहीबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइँदै छ । तीन दिनसम्म मनाइने छठ पर्वको मुख्य दिन आज सूर्यको पूजाआराधना गरी उल्लासपूर्वक मनाउन लागिएको हो । शुक्रबार उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ सम्पन्न हुन्छ ।

मिथिला क्षेत्रमा विशेष हर्षोल्लासपूर्वक मनाइने यो पर्वको रौनक पछिल्ला वर्षहरूमा काठमाडौं उपत्यकामा पनि विशेष हुने गरेको छ । कुनै समय तराईमा मात्र मनाइने यो पर्व समयसँगै पहाडतिर उक्लिन थालेको हो ।

छठ पर्व कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइन्छ । छठका व्रतालुले कात्तिक शुक्ल चतुर्थीदेखि नै चोखो खानपान गरी शुद्ध भएर बस्ने गर्छन् ।

छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । झुप्पा-झुप्पा फल चढाए सूर्य देवता प्रसन्न भई व्रतालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता रहेको छ ।

यो पर्वको मुख्य दिन कात्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिई रातभर जागा बसी कात्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजा-आराधना गरी विधिपूर्वक अर्घ दिएपछि यो पर्व सम्पन्न हुन्छ ।

यस वर्ष काठमाडौं महानगर क्षेत्रभित्र आठ स्थानमा छठ पर्व मनाउने व्यवस्था मिलाइएको काठमाडौं महानगरपालिकाले जनाएको छ । जसमा गौरीघाट, कोटेश्वर दोभान, कमलपोखरी, वंशीघाट, बालाजु बाइसधारा, धौखेल खोला, कुमारी क्लब र भुवनेश्वरी मन्दिर रहेका छन् ।

काठमाडौं महानगरपालिकाका उल्लेखित स्थानमा छठ पर्व मनाउन पोखरी सरसफाइ, पोखरी वरिपरि रंगरोगन र छठ पर्वस्थल व्यवस्थापनको काम समेत सकिएको छ । छठ पर्वको मुख्य दिन भएकाले सरकारले आज देशभर सार्वजनिक बिदा पनि दिएको छ