• Menu

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विस्तार र स्तरोन्नतिले पायो तीव्रता, १५ अर्ब खर्च गर्दै क्यान

नेपाल प्रफिट

२०८१ कात्तिक २१, बुधबार १३:०५

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विस्तार र स्तरोन्नतिले पायो तीव्रता, १५ अर्ब खर्च गर्दै क्यान

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए)को क्षमता अभिवृद्धि गरिँदैछ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले कात्तिक २३ देखि दैनिक १० घण्टा उडान बन्द गरेर करिब पाँच महिनासम्म विमानस्थल विस्तार गर्न लागेको हो ।

प्राधिकरणअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले विमानस्थलको दक्षिण-पश्चिमतर्फ समानान्तर ‘ट्याक्सी वे’, उत्तरतर्फको ‘इन्टरनेसनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्याङ्गर एप्रोन’ लगायत विस्तार गर्नेछ । यी काम पूरा गर्न करिब १५ अर्ब रुपैयाँ खर्च हुने आयोजनाले जनाएको छ ।

प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीका अनुसार टीआईएको धावनमार्गसँगै समानान्तर हुने गरी ट्याक्सी वे बनाउन लागिएको छ । ‘विमानस्थलको स्तरोन्नतिपछि २० देखि २५ प्रतिशत धावनमार्गको क्षमता बढ्नेछ भने एयर ट्राफिक व्यवस्थापनमा थप सहज हुन्छ,’ उनले भने ।

स्तरोन्नतिका क्रममा राति १० बजेदेखि बिहान ८ बजेसम्मका सबै उडान कटौती गर्नुपर्ने बाध्यता रहेको प्राधिकरणले जनाएको छ । हाल विमानस्थल बिहान ६ बजे खुलेर राति २ बजेसम्म सञ्चालन हुँदै आएको छ ।  आयोजना प्रमुख दीपेन्द्र श्रेष्ठले उडान सुरक्षामा कुनै खतरा उत्पन्न नहोस् भनेर उडान बन्द गरिएको उल्लेख गरे ।

प्राधिकरणले नेपाल र सम्बन्धित मुलुकबीचका द्विपक्षीय तथा बहुपक्षीय हवाई सेवा सम्झौताको आधारभूत मान्यताबमोजिम विमानस्थलको क्षमताअनुसार निष्पक्ष र समन्यायिक उडान संख्या व्यवस्थापन गरेको छ । प्राधिकरणले गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान गर्न स्वदेशी तथा विदेशी वायु सेवा कम्पनीलाई विशेष अनुरोध गरेको छ ।

प्रचलित कानुनले तोकेको सीमाको परिपालना गरी हवाई भाडाको कार्यान्वयन गर्ने सिद्धान्तविपरीत उड्डयन क्रियाकलाप नगर्न नगराउन सम्बद्ध पक्षलाई प्राधिकरणले आग्रह पनि गरेको छ ।

नेपालमा हाल तीन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थापनाको ७४ वर्षपछि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएका हुन् ।

टीआईए भएर आन्तरिकतर्फ ११ हेलिकप्टर कम्पनीसहित १९ हवाई कम्पनी र आन्तर्राष्ट्रियतर्फ तीन नेपालीसहित ३० हवाई सेवा कम्पनीले उडान गर्दै आएका छन् । काठमाडौँ विमानस्थलमा आन्तरिकमा दुईतर्फी तीन सयभन्दा बढी र अन्तर्राष्ट्रियतर्फ एक सय हाराहारी उडान हुने गरेका छन् ।

पटक–पटक विमानस्थल विस्तार र मर्मत

देशकै जेठो अन्तर्राष्ट्रिय विमानस्थल टीआइएको पटक-पटक मर्मत र क्षमता अभिवृद्धि गरिँदै आएको छ । २०७७ सालमा सो विमास्थलको धावनमार्ग विस्तार गरी तीन हजार तीन सय मिटर कायम गरिएको थियो ।

त्यतिबेला पनि बेलुका ६ बजेदेखि विहान ६ बजेसम्म दैनिक १२ घण्टा उडान बन्द गरिएको थियो । तत्कालीन समयमा विमानस्थलको धावनमार्गको दक्षिणतर्फ (कोटेश्वर क्षेत्र रनवे जिरो-टु) विस्तार भएको थियो ।

२०७५ सालमा दैनिक १० घण्टा विमानस्थल बन्द गरेर झन्डै चार महिना अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग पूर्णरुपमा मर्मत (कालोपत्र) गरिएको थियो । विमानस्थल मर्मतको अवधिमा आन्तरिक र अन्तर्राष्ट्रियतर्फ करिब ३० प्रतिशत उडान कटौती भएको थियो ।