काठमाडौं । अधिकांश वाणिज्य बैंकले निक्षेपको ब्याजदर घटाएका छन् । बैंकहरुले माघ १ देखि लागू हुनेगरी निक्षेपको ब्याजदर पुसको तुलनामा अधिकतम ०.२ प्रतिशतदेखि अधिकतम १.७५२ प्रतिशत बिन्दुसम्मले घटाएका हुन् ।
कृषि विकास बैंकले व्यक्तिगत मुद्दति निक्षेत्रको ब्याज सबैभन्दा धेरै १.७५२ प्रतिशत बिन्दुले घटाएको छ । बैंकले पुसमा ९.०१२ प्रतिशत रहेको मुद्दति निक्षेपको ब्याज माघमा ७.२६ प्रतिशतमा झारेको हो ।
माघका लागि माछापुच्छ्रे, लक्ष्मी सनराइज र नेपाल बैंकले ब्याजदर ८ प्रतिशतमा झारेका छन् । पुसमा माछापुच्छ्रेको ९.६, लक्ष्मी सनराइजको ९ प्रतिशत र नेपाल बैंकको ८.५६६ प्रतिशत थियो । त्यस्तै प्रभु र एनआईसी एशिया बैंकले ८.०६५ प्रतिशतमा झारेका छन् ।
माघका लागि स्ट्यान्डर्ड चार्टर्ड बैंक र राष्ट्रिय वाणिज्य बैंकले ब्याजदर ८.०७ प्रतिशतमा झारेका छन् । भने प्राइम कमर्सियल, ग्लोबल आइएमई, सिद्धार्थ र नबिल बैंकले ८.१ प्रतिशत बनाएका छन् ।
कुमारी बैंकले ८.११, सानिमा र हिमालयनले ८.१५ प्रतिशत तथा नेपाल एसबिआई बैंकले ८.२५ प्रतिशत ब्याज तोकेका छन् । यस्तै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ८.६ प्रतिशत र सिटिजन्स बैंकले ९.१५ प्रतिशत ब्याजदर तोकेका छन् ।
एभरेष्ट बैंक र एनएमबि बैंकले माघका लागि ब्याजदर परिवर्तन गरेका छैनन् । एनएमबी बैंकले पुसका लागि तोकेको ९ प्रतिशत र एभरेष्ट बैंकले ८ प्रतिशत ब्याजदरलाई नै निरन्तरता दिएको छ ।
बैंकिङ प्रणालीमा कर्जाको माग घटेर तरलता अधिक भएपछि बैंकहरुले लगातार ब्याजदर घटाइरहेका छन् । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत बैंकदर घटाएपछि बैंकहरूको निक्षेपको ब्याजदरमा प्रभाव परेको हो ।
राष्ट्र बैंकले मंसिर २२ गते चालु आर्थिक वर्षको मौद्रिक नीतिको त्रैमासिक समीक्षा गर्दै बैंकदर ७.५ प्रतिशतबाट घटाएर ७ प्रतिशतमा झारेको छ । त्यस्तै नीतिगत दर ६.५ प्रतिशतबाट घटाएर ५.५ प्रतिशत र निक्षेप संकलन बोलकबोल दरलाई ४.५ प्रतिशतबाट ३ प्रतिशतमा झारेको छ ।
राष्ट्र बैंकका अनुसार पुस २३ सम्ममा बैंक वित्तीय संस्थाको कुल निक्षेप ६० खर्ब ८५ अर्ब नाघेको छ भने कुल कर्जा प्रवाह ५० खर्ब ४२ अर्ब रुपैयाँ छ । त्यस्तै पुस २३ सम्ममा कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८०.१० प्रतिशत छ ।
वाणिज्य बैंकहरुको निक्षेप संकलन ५३ खर्ब ८५ अर्ब छ भने कर्जा प्रवाह ४४ खर्ब ५७ अर्ब रुपैयाँ छ । पुस २३ सम्ममा अन्तर बैंक ब्याजदर २.६८ प्रतिशत छ ।
अधिक तरलताका कारण अन्तर बैंक ब्याजदर १ प्रतिशतभन्दा तल झरेपछि राष्ट्र बैंकले लगातार निक्षेप संकलन उपकरणमार्फत बजारबाट पैसा उठाइरहेको छ । पुस २६ गतेमात्रै पनि राष्ट्र बैंकले एक साताका लागि २.६८९९ देखि ३.४५ प्रतिशत ब्याजदरमा २० अर्ब रुपैयाँ उठाएको छ ।
राष्ट्र बैंकले मंसिर ६ देखि पुस २६ सम्ममा ७, १४ र २१ दिने गरी २० पटक निक्षेप संकलन गरिसकेको छ । कर्जा प्रवाह ठप्प भएपछि सुरुवाती चरणमा बैंकहरुले ०.४९ प्रतिशतसम्म ब्याजदरमा पनि राष्ट्र बैंकमा निक्षेप राखेका थिए ।