काठमाडौं । डिजिटल बैंकिङ क्षेत्रमा समय सापेक्ष नवीनतम् प्रविधिमैत्री उपकरण सञ्चालनमा ल्याउन सदैव उत्साहित तथा क्रियाशील रहेको माछापुच्छ्रे बैंकले ग्राहकलाई नौलो अनुभव दिन एम-कार्ड (M-Card) सुविधा सञ्चालनमा ल्याएको छ ।
एम-कार्ड सेवामार्फत बैंकका ग्राहकले आफ्नो छनौटमा स्वयं आफ्नो, आफन्तजन तथा प्रियजनहरुको तस्बिर वा अन्य विविध प्रकृतिका तस्बिर जस्तै: विभिन्न मन पर्ने स्थान, प्राकृतिक धार्मिक ऐतिहासिक सम्पदा एवं कला तथा संस्कृति झल्किने चित्र आदि आकृति अंकित गरी सम्बन्धित ग्राहकले भिसा कार्डलाई पर्सनलाइज्ड गर्न सक्नेछन् ।
साथै कार्डमार्फत कार्डधारकले पर्सनलाइज्ड कार्डमा अंकित तस्बिरप्रतिको प्रेमभाव, सम्मान तथा आस्था दर्शाउन उत्तम माध्यमको रुपमा आत्मसात् गर्न सक्नेछन् । एम-कार्ड सेवाले कार्ड प्रयोगकर्तालाई पृथक् अनुभूति दिलाउने र नौलोपनको आभास दिलाउने बैंकको विश्वास छ ।
बैंकले हाल एम-कार्डलाई भिसा डेबिड कार्डको रुपमा प्रस्तुत गरेको भए पनि भविष्यमा क्रेडिट कार्डसमेतमा लागु गर्ने योजना बनाएको छ । बैंकको २४औँ वार्षिकोत्सवका अवसरमा हालै एम-कार्ड जारी गर्दा ग्राहकलाई जारी शुल्कमा विशेष छुटको व्यवस्था गरेको छ ।
‘हाम्रा ग्राहकहई नवीन तथा व्यक्ति अनुकूलित बैंकिङ समाधानहरु प्रदान गर्न प्रतिबद्ध छौं,’ माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले भने, ‘एम-कार्ड सेवाको शुभारम्भले भिसा कार्डको सुविधा तथा सुरक्षा अनुभव यथावत् राख्दै ग्राहकलाई व्यक्तित्व तथा व्यक्तिगत रुचि अभिरुची पर्सनलाइज्ड कार्डमार्फत प्रकट गर्ने अवसर प्रदान गर्नेछ ।’
माछापुच्छ्रे बैंक ग्राहक केन्द्रित डिजिटल सेवा विस्तार गर्न निरन्तर अग्रसर रहेको र ग्राहकको बैंकिङ अनुभवलाई थप उत्कृष्ट बनाउन एम-कार्ड सेवामार्फत अर्को एक कदम अघि सारेको विज्ञप्तिमा उल्लेख छ ।
कसरी लिने सेवा ?
एम-कार्ड सेवामार्फत कार्डलाई पर्सनलाइज्ड गर्न लिंक क्लिक गर्नुपर्नेछ र आफ्नो कम्प्युटर वा मोबाइलबाट आफुलाई मन परेको तस्बिर अपलोड गरी सहज रुपले कार्ड पर्सनलाइज्ड गरी आफूले रोजेको यस बैंकको जुनसुकै शाखामार्फत प्राप्त गर्नुहोस् ।
एम-बैंक सेवाबारे थप जानकारीका लागि बैंकको वेबसाइट क्लिक गर्न वा ग्राहक सेवा केन्द्र ०१५९७०५५५ मा सम्पर्क गर्न सकिने पनि बैंकले विज्ञप्तिमार्फत जनाएको छ ।