• Menu

नेपाली नेत्ररोग विशेषज्ञ बंगलादेशका घाइतेको आँखा उपचारमा तल्लीन

नेपाल प्रफिट

२०८१ असोज २३, बुधबार १२:५५

नेपाली नेत्ररोग विशेषज्ञ बंगलादेशका घाइतेको आँखा उपचारमा तल्लीन

काठमाडौँ । नेपालको आँखा उपचार सेवाले अन्तराष्ट्रिय क्षेत्रमा प्रतिष्ठा हाँसिल गरिरहेको छ । भारतीय सीमा क्षेत्रका नागरिक एवं अन्य देशका नागरिक समेत नेपालका  आँखा उपचार केन्द्रमा सेवा लिन आउनेक्रममा बृद्धि भइरहेको छ ।  अर्कोतर्फ नेपालका नेत्रविशेषज्ञले विदेशमा पुर्‍याएको सेवा तथा अनुसन्धान अब्बल कहलिएका छन् ।

नेपाली नेत्रविशेषज्ञद्वय सुशीला पटेल र सविता ढकालले  बंगलादेशको आन्दोलनका क्रममा आँखामा समस्या देखिएका घाइतेका ढाकामा विशेषज्ञ सेवा प्रदान गरिरहेका छन् ।

घाइतेको आँखा उपचार गर्न नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर रण अम्बिका शाह आँखा अस्पताल भैरहवाले चिकित्सकद्वयलाई त्यसतर्फ पठाएको थियो ।  अस्पतालका व्यवस्थापक प्रकाश रायमाझीका अनुसार अस्पतालमा कार्यरत  डा. पटेल कर्निया सर्जनको एशोसियट प्रोफेसर तथा डा. ढकाल भिट्रो रेटिना सर्जन छन् । उनीहरु नेशनल इन्ष्टिच्यूट अफ अप्थालमोलोजी ढाकाको आग्रहमा बंगलादेश गएका हुन् ।

अस्पतालका सूचना अधिकारी प्रतिक पाण्डेका अनुसार नेपाली चिकित्सकले यही असोज १८ गतेदेखि ढाकामा विशेषज्ञ उपचार सेवा प्रदान गरिरहेका छन् । योक्रम यही असोज २३ गतेसम्म जारी रहने छ ।

आन्दोलनका क्रममा बंगलादेशको राजधानी ढाकामा विशेष गरेर आँखामा चोट लागि नानी च्यातिएका, नानीमा गहिरो चोट लागेका, आँखाको पर्दा च्यातिएका, आँखामा चोट लागि घाइते भएका, आँखामा रगत आएका लगायत समस्या देखिएका बिरामीको उपचारका साथै शल्यक्रिया गरिएको छ ।

नेपाल नेत्रज्योति संघका महासचिव भरतबहादुर चन्दका अनुसार सेवा नेपाल र सेवा फाउन्डेसनको समन्वय तथा नेशनल इन्ष्ट्रिच्यूट अफ अप्थालमोलोजी ढाकाको आग्रहमा अस्पतालमा कार्यरत चिकित्सकलाई बंगलादेश पठाइएको हो ।

उनले भने, ‘छिमेकीलाई समस्या पर्दा सहयोग गर्नु हाम्रो कर्तव्य हो ।  विगतमा पनि हामीले बंगलादेशस्थित नेपाली राजदूतावासका समन्वयमा बंगलादेशमा आँखा परीक्षण शिविर सञ्चालन गरिसकेका छौँ । उहाँहरुले सेवा फाउन्डेसनमार्फत चिकित्सक पठाउन आग्रह गरेपछि हामीले हाम्रो अस्पतालमा कार्यरत चिकित्सलाई बंगलादेश पठाएका छौँ । यसले दुई देशबीचको सम्बन्ध नागरिकस्तरमै थप प्रगाढ हुने विश्वास लिएका छौँ र आगामी दिनमा समेत दूतावाससँगको सहकार्यमा बंगलादेशका विभिन्न स्थानमा आँखा शिविर सञ्चालन गर्ने योजना बनाएका छौँ ।’

बंगलादेशबाट व्यक्तिगत रुपमा नै आँखाका बिरामी उपचारका लागि नेपाल आइरहेका छन् । संघको तथ्यांक अनुसार सन् २०२३ मा मात्र भारत बंगलादेशसहित विभिन्न देशबाट ८ लाखभन्दा बढी बिरामीले संघको सञ्जालमार्फत आँखाको उपचार गराएका छन् ।

संघका कार्यकारी निर्देशक डा. शैलेशकुमार मिश्रले भने,’गतवर्ष मात्र पनि हाम्रो सञ्जालमार्फत ८ लाख भन्दाबढी गैर नेपाली बिरामीले आँखा उपचार सेवा लिएका छन् । यसले हाम्रो उपचारमा अन्य देशका नागरिककोसमेत विश्वसनियता बढेको छ भन्ने देखिन्छ । यसैले हामीले अब बढीभन्दा बढी नेपाली नागरिकलाई आँखा उपचार सेवा प्रवाह गर्दै नेपाललाई आँखा उपचारको पर्यटन गन्तव्यका रुपमा विकास गर्ने लक्ष्य दिएका छैँ ।’