काठमाडौं । प्राकृतिक विपत्तिविरुद्धको कार्यमा खर्च गर्न विश्व बैंकले नेपाललाई २० अर्ब रुपैयाँभन्दा बढी सहयोग गर्ने भएको छ । नेपालको विपद् प्रतिकार्यलाई बलियो बनाउन विश्व बैंकले हालै १५ करोड डलर (२० अर्ब १० करोड रुपैयाँ) स्वीकृत गरेको हो ।
विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले प्राकृतिक वा जलवायु प्रकोपबाट उत्पन्न प्रतिकूल अवस्थामा प्रयोग गर्ने गरी नेपाल सरकारलाई आकस्मिक आर्थिक सहयोग गरेको जनाएको छ ।
नेपालमा प्राकृतिक प्रकोपहरूको सामना गर्न विश्व बैंकले ‘क्याटास्ट्रोफी डिफर्ड ड्रडाउन अप्सन’ (क्याट डीडीओ) कार्यान्वयनमा ल्याएको छ । क्याट डीडीओले प्रकोप प्रतिकार्यका लागि नीतिनियमको सुधार तथा प्रकोपको प्रभावलाई कम गर्ने उद्देश्यले संस्थागत संयन्त्रलाई सुदृढ बनाउन सहयोग गर्छ ।
विश्व बैंकको माल्दिभ्स, नेपाल र श्रीलंका हर्ने क्षेत्रीय निर्देशक डेविड सिस्लेनले हालैको भिषण वर्षापछिको बाढीपहिरोले नेपाल प्राकृतिक र जलवायु प्रेरित खतराहरू र स्वास्थ्य आपतकालीन अवस्थाको सामना गर्नुपरेको बताए ।
यसले गम्भीर आर्थिक समस्याको सामना गर्नुपर्ने अवस्था सिर्जना भएको उनको भनाइ छ । विश्व बैंको क्याट डीडीओ कार्यक्रमले ती जोखिमविरुद्धको कार्यमा लाग्न सहयोग पुग्ने उनले बताए ।
असोजको दोस्रो साता आएको भारी वर्षापछिको बाढीपहिरोबाट नेपालले ठूलो मानवीय तथा भौतिक सम्पतिको क्षति व्यहोर्नुपरेको छ ।