• Menu

सिधाकुरा डटकमका प्रकाशक कँडेल र कार्यकारी सम्पादक ढुंगाना रिहा

नेपाल प्रफिट

२०८१ असोज २०, २१:२३

सिधाकुरा डटकमका प्रकाशक कँडेल र कार्यकारी सम्पादक ढुंगाना रिहा

काठमाडौं । सिधाकुरा डटकमका प्रकाशक युवराज कँडेल र कार्यकारी सम्पादक नवीन ढुंगाना रिहा भएका छन् । सर्वोच्च अदालतले तोकेको सजाय भुक्तान गरेर उनीहरु आइतबार रिहा भएका हुन् ।

अदालतको अवहेलना गरेको अभियोगमा सर्वोच्चले कँडेल र नवीन ढुंगानालाई तीन-तीन महिना कैद सजाय र जनही पाँच हजार जरिवाना फैसला गरेको थियो । तर, अदालतको आदेशअनुसार निशर्त माफी मागेपछि उनीहरु सात दिनको कैद सजाय भुक्तान गरेर जेलमुक्त भएका हुन् ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरु प्रकाशमानसिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, हरिप्रसाद फुयाल, नहकुल सुवेदी, विनोद शर्मा, महेश शर्मा पौडेल र बालकृष्ण ढकालको बृहत् पूर्ण इजलासले असोज १३ गते उनीहरुलाई सजाय सुनाएको थियो ।

सिधाकुरा डटकमले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्टिङ अपरेसनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतका न्यायाधीश र केही आमसञ्चारमाध्यमका सञ्चालकले लेनदेन गरेको दाबी गर्दै एक समाचार र भिडियो सामग्री प्रकाशन गरेको थियो ।

सिधाकुराले राजकुमार तिमल्सिनाले दिएको एक अडियो कुराकानीका आधारमा समाचार प्रकाशन गरेको थियो । सर्वोच्चले तिमल्सिनालाई ६ महिना कैद गर्न आदेश दिएको छ ।