• Menu

बाढीपहिरोबाट भत्किएका देशभरका सडक बनाउन २५ अर्ब लाग्छ, पुनर्निर्माण तत्काल सम्भव छैन : मन्त्री दाहाल

नेपाल प्रफिट

२०८१ असोज २०, १३:५८

बाढीपहिरोबाट भत्किएका देशभरका सडक बनाउन २५ अर्ब लाग्छ, पुनर्निर्माण तत्काल सम्भव छैन : मन्त्री दाहाल

काठमाडौं । असोज दोस्रो साताको भारी वर्षापछिको बाढी र पहिरोबाट भत्किएका सडक निर्माण गर्न २५ अर्ब रुपैयाँ खर्च हुने देखिएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले रासससँगको अन्तर्वार्ताका क्रममा असोज १०, ११ र १२ गतेको भिषण वर्षापछिको बाढी र पहिरोले भत्काएका सडक निर्माणमा २५ अर्ब रुपैयाँ खर्च लाग्ने देखिएको बताएका हुन् ।

तत्काल सडक खोल्न दुईदेखि तीन अर्ब र देशभरिका सडक निर्माण गर्न २० देखि २५ अर्ब लाग्ने पूर्वानुमान उनले गरे । ‘त्यसो हुँदा बाटो बनाउने कुरा त्यति सजिलो छैन,’ उनले भनेका छन्, ‘ठ्याक्कै यति समयभित्र बनिसक्छ भनेर भन्ने स्थिति पनि छैन, पुनर्निर्माणको काम अलि ढिलै होला ।’

बाढीपहिरोका कारण भौतिक पूर्वाधारमा ठूलो क्षति पुगेकाले सरकारले योजना बनाएर काम गरिरहेको उनले बताए । ‘योजना बनाउने क्रममा पहिलो प्राथमिकता उद्धारको काम हो । अब करिब-करिब उद्धारको काम सकिएको छ,’ मन्त्री दाहालले भने, ‘अझै पनि बीपी राजमार्गमा ६ सय गाडी फसिरहेका छन् । सहचालक र ड्राइभरहरु गाडी रुँगेर बसिरहेका छन् । उनीहरुलाई हामीले उद्धार गर्नुपर्नेछ ।’

बाढीपहिरोबाट क्षति पुगेका भौतिक संरचनाको लगत संकलन भइरहेको उनले बताएका छन् । ‘हामी कति पक्की र झलुंगे पुल भत्किए भनेर लगत संकलन गरिरहेका छौँ,’ उनले भने, ‘अहिलेसम्म पाँचवटा ठूला पुल भत्किएका छन् । मुख्य पाँचवटा सडक अवरुद्ध भएका छन् । ती सडकको कति स्तरसम्मको क्षति हो भनेर हेरिसकेपछि त्यसको मूल्यांकनका आधारमा हामी दुई चरणमा काम गर्छौं । एउटा भनेको तत्काल सडक खोल्ने र अर्को पुनर्निर्माण गर्ने ।’

बीपी राजमार्ग तत्कालै खोल्ने सक्ने स्थिति नरहेको मन्त्री दाहालले बताए । ‘रोशी खोलादेखि पूर्व-दक्षिण १२ किलोमिटरसम्म बाटो बगाएको छ । त्यसलाई निर्माण गर्न समय लाग्छ । त्यहाँ डाइभर्सन निकाल्न नै समस्या छ । त्यो बाटो दसैँअगाडि खोल्न सकिँदैन,’ उनले भने, ‘तथापि प्रयत्न चाहिँ गरिरहेका छौँ ।’

कान्ति राजपथ भने दसैँअगाडि नै खाल्ने मन्त्री दाहालले बताए । रामेछाप जोड्ने पुलमा चाँडै बेलिब्रिज लगाएर सवारी साधन सञ्चालन गर्ने र त्यसका जिम्मा नेपाली सेनाले लिएको उनले जानकारी दिए । त्यस्तै तातोपानी जाने अरनिको राजमार्ग पनि खुलाउन लागिपरेको उनले बताए ।

‘त्यसमा पनि बेलिब्रिज लगाएर बाटो खोलिनेछ । तातोपानीबाट आउने ६ सयजति कन्टेनर उता अड्किएका छन् । तिनीहरुलाई पनि काठमाडौँतिर ल्याउनुपर्नेछ,’ उनले भने ।

असोज दोस्रो साताको अविरल वर्षाका कारण मुलुकले बाढीपहिरोजस्ता मनसुनजन्य विपद्को सामाना गर्नुपरेको छ । मुलुकको भौतिक संरचनाको ठूलो क्षति भएको छ । दसैं सुरु भइसकेको छ । राजधानीबाट बाहिरिने कहिले सडक सहज बन्ला भनेर कुर्नेहरुको संख्या निकै ठूलो छ । तर, बाढीपहिरोले भत्किएका कतिपय सडक अस्थायी रुपमै भए पनि नखुल्दा दसैंमा घर जानेहरुले सास्ती व्यहोर्नुपर्ने भएको छ ।