• Menu

स्थायी लेखा नम्बर लिने करदाताको संख्या ६३ लाख ४० हजार पुग्यो, एकै वर्षमा थपिए ७ लाख ८६ हजार

नेपाल प्रफिट

२०८१ असोज २०, ११:३५

स्थायी लेखा नम्बर लिने करदाताको संख्या ६३ लाख ४० हजार पुग्यो, एकै वर्षमा थपिए ७ लाख ८६ हजार

काठमाडौं । स्थायी लेखा नम्बर (प्यान) लिने करदाताको संख्या तीव्र दरमा बढ्न थालेको छ । सरकारले वित्तीय अनुशासनका लागि व्यक्तिलाई समेत सबै प्रकारका भुक्तानीमा अनिवार्य गरेपछि करदाताले प्यान नम्बर लिने क्रम बढेको हो ।

२०७८ असार मसान्तसम्म देशभरबाट जम्मा ४० लाख ६६ हजार १३१ जनाले प्यान नम्बर लिएकोमा तीन वर्षमै २३ लाखभन्दा धेरैले बढेर २०८१ असारसम्ममा ६३ लाख ४० हजार ३६९ पुगेको छ । प्यान लिने करदाताको संख्या त्यसयताका हरेक वर्ष ७ लाखभन्दा धेरैले बढिरहेको छ ।

आन्तरिक राजस्व विभागका अनुसार तीन वर्षको अवधिमा व्यक्तिगत प्यान लिनेको संख्या सबैभन्दा धेरै बढेको छ । २०७८ असार मसान्तसम्ममा २४ लाख ७५ हजार ७५३ जनाले व्यक्तिगत प्यान लिएकोमा २०८१ असार मसान्तसम्ममा ४२ लाख ६७ हजार ३९५ जनाले लिएका छन् ।

समीक्षा अवधिमा व्यावसायिक प्यान लिनेको संख्या १५ लाख ८० हजार ३८० बाट बढेर १९ लाख ९२ हजार ५४४ पुगेको छ । त्यस्तै करकट्टी गर्ने निकायले लिएको स्थायी लेखा नम्बर २०७८ असार मसान्तसम्म ९ हजार ९९८ रहेकोमा गत असारसम्ममा ८० हजार ४३० पुगेको छ ।

गत वर्षमात्रै ११६ हजार २३९ जनाले व्यावसायिक, ६ लाख १७ हजार ७८१ जनाले व्यक्तिगत र करकट्टी गर्ने निकायले ५२ हजार ३२३ वटा प्यान नम्बर लिएका छन् । गत वर्षभरमा कुल ७ लाख ८६ हजार ३४३ जनाले प्यान लिएका छन् ।

२०८१ असार मसान्तसम्ममा मूल्य अभिवृद्धि कर (भ्याट)मा दर्ता कायम रहेका करदाताको संख्या ३ लाख ३४ हजार ९८३ र अन्त:शुल्क इजाजत लिने करदाताको संख्या १ लाख २५ हजार ८१ पुगेको छ ।