• Menu

एआईसम्बन्धी अवधारणा पत्रमा छलफल, महत्वपूर्ण विषय समावेश नभएकोमा चिन्ता

नेपाल प्रफिट

२०८१ असोज १८, शुक्रबार १०:३०

एआईसम्बन्धी अवधारणा पत्रमा छलफल, महत्वपूर्ण विषय समावेश नभएकोमा चिन्ता

काठमाडौं । सरकाले सार्वजनिक गरेको ‘आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी अवधारणा पत्र’का विभिन्न पक्षहरूमा सरोकारवाला निकायका प्रतिनिधि र विज्ञहरूबीचको अन्तर्क्रिया भएको छ । कम्प्युटर एसोसिएसन नेपाल (क्यान महासंघ) ले आयोजना गरेको कार्यक्रममा वक्ताहरूले अवधारणा पत्रको स्वागत गरे पनि यसमा कतिपय महत्वपूर्ण विषय समावेश नभएको औंल्याए ।

कार्यक्रममा एआईको प्रयोग, नियमन र व्यवस्थापनबारे जानकारी र रुची राख्ने अध्यापक, सूचना प्रविधि विज्ञ, अधिवक्ता, सेवाप्रदायक कम्पनी, डिजिटल अधिकारको पक्षमा काम गर्ने अभियन्तालगायतको उपस्थिति थियो ।

छलफलमा उठेका विषय र सुझावको प्रतिवेदन बनाएर सरकारलाई बुझाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको क्यान महासंघले जनाएको छ । एआईको नियमन आवश्यक भए पनि नियन्त्रण गर्न नहुनेमा वक्ताहरूले साझा मत जाहेर गरेका छन् ।

नेपाल खुला विश्वविद्यालयको स्कुल अफ टेक्नोलोजीका प्रमुख भोजराज घिमिरेले अवधारणा पत्र आफैँमा स्वागतयोग्य भए पनि यसमा खुद्राखुद्री र सैद्धान्तिक कुरा धेरै भएको टिप्पणी गरे । एआई डेटामा आधारित हुने भए पनि अवधारणा पत्रमा डेटा स्ट्यान्डर्डाइजेसन, डेटा सेयरिङ, डेटा क्लिन्जिङ, डेटा प्राइभेसी र सेक्युरिटीजस्ता महत्वपूर्ण विषय गौँड रहेको उनले बताए ।

डिजिटल राइट्स नेपालकी सन्जिना क्षेत्रीले पनि डेटा संरक्षणको विषयबारे अवधारणा पत्रमा कुनै चित्रण नभएको उल्लेख गरिन् । साथै, देश संघीय संरचनामा प्रवेश गरिसकेको अहिलेको परिप्रेक्षमा अवधारणा पत्रले तीन तहका सरकारको भूमिका स्पष्ट नपारेको उनले बताइन् ।

‘नागरिक समाज र प्रविधि क्षेत्रका प्रतिनिधिमात्रै नभएर यो अवधारणा पत्रमा सरकारी तहमै पनि प्रदेश र स्थानीय तहको भूमिका र जिम्मेवारीबारे खासै उल्लेख छैन,’ उनले भनिन्, ‘एआईको प्रयोग हरेक तहमा भइरहेकाले प्रदेश र स्थानीय तहको जिम्मेवारी र भूमिका यसमा स्पष्ट रूपमा उल्लेख हुनुपर्ने हो ।’

सूचना प्रविधि विज्ञ तथा नेपाल प्रहरीका पूर्व डीआईजी राजीव सुब्बाले आजभन्दा १८ वर्षअघि ई-कमर्स क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्यले विद्युतीय कारोबार ऐन ल्याइएकोमा पछि सो कानुन साइबर अपधराध नियन्त्रणका लागि प्रयोग गरिएको स्मरण गरे ।

‘त्यो कानुन पनि पहिले ई-कमर्स क्षेत्रको विकासका लागि भनेर परिभाषित गरिएको थियो, पछि गएर त्यसलाई साइबर अपराधको व्यवस्थापनमा पो लगाइयो,’ उनले भने, ‘एआईसम्बन्धी अहिलेको बहसलाई पनि सही दिशा दिन सकिएन भने त्यसैगरी दिग्भ्रमित हुने खतरा रहन्छ ।’

डिजिटल मिडिया फाउन्डेसनका संस्थापक प्रवेश सुवेदीले पनि एआईका लागि छुट्टै निकाय आवश्यक भए पनि यसलाई सञ्चार मन्त्रालयमातहत राख्न नहुने तर्क गरे । अवधारणा पत्रमा एआईसम्बन्धी गतिविधि समन्वय गर्नुका साथै साक्षरता फैलाउने र अनुसन्धानका लागि नोडल एजेन्सी स्थापना गर्न प्रस्ताव गरिएको छ ।

‘यो अवधारणा पत्रले सुझाएका मार्गनिर्देशन अनुरुप नीति वा कानुन निर्माण गर्दा  सञ्चार मन्त्रालयले अन्य मन्त्रालय र निकायका क्षेत्राधिकारसमेत मिच्ने समस्या आउन सक्छ,’ उनले भने, ‘यसले हाम्रो संघीयता, सांस्कृतिक र भाषिक विविधतालाई पनि चिन्दैन । यो जेनेरिक छ, हाम्रो पृथकतालाई यसले प्रतिनिधित्व गर्दैन ।’

कार्यक्रममा ग्लोबल कलेज इन्टरनेसनलका एसोसिएट प्रोफेर समिर खरेल, क्यान महासंघका उपाध्यक्ष उमेश रघुवंशी, एभरेस्ट इन्जिनियरिङ कलेजका निश्चल रेग्मी, एआई इन्स्ट्रटर उदिपकुमार महतो, हुवावे नेपालका गौरव थापा, पत्रकार सुदीप रायमाझी, फेसेट टेक्नोलोजका प्रमुख सुरेश पोखरेल, सोध तथा तथ्यांक विश्लेषक खेमराज पोखरेल, ट्रिलिफ टेक्नोलोजीका अशोककुमार पन्त, अध्यापक उत्तम कार्की, सूचना प्रविधि व्यवस्थापक अनुकूल रेग्मीलगायतले धारणा राखेका थिए ।

कार्यक्रममा उठान गरिएका विषय टिपोट गरी प्रतिवेदन बनाउन क्यानले काठमाडौं विश्वविद्यालयअन्तर्गत कम्प्युटर साइन्स विभागका प्रा. डा. सुदन झा, क्यान महासंघकी वुमन ईन आईटी कमिटीकी कोर्डिनेटर गंगा भण्डारी र वर्ल्ड एसोसिएसन अफ गर्ल गाइड एन्ड गर्ल स्काउ्टसको इन्टरनेट सेफ्टी प्रोग्राममा आबद्ध दिक्षा राउतलाई जिम्मेवारी दिएको छ ।

प्रतिवेदन मन्त्रालयलाई बुझाउने क्यान महासचिव तथा एआई कन्सेप्ट पेपरका संयोजक चिरञ्जीवी अधिकारीले जानकारी दिए । ‘यो अवधारणा पत्रका विषयमा विमर्श गरी आज उठेका विषयको प्रतिवेदन तयार गर्न समिति बनेको छ,’ उनले भने, ‘प्रतिवेदन मन्त्रालयमा बुझाउछौँ ।’