• Menu

दसैँलक्षित बजार अनुगमन सुरु

नेपाल प्रफिट

२०८१ असोज १६, बुधबार १६:२१

दसैँलक्षित बजार अनुगमन सुरु

काठमाडौँ । सरकारले दसैँ, तिहार र छठजस्ता चाडपर्वलाई लक्षित गरेर घुम्ती खाद्य प्रयोगशालासहित बुधबारदेखि बजार अनुगमन सुरु गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आजदेखि दुईवटा मोबाइल भ्यानसहित काठमाडौँ, ललिपुर र भक्तपुर जिल्लाभित्र बजार अनुगमन सुरु गरेको हो ।

बजार अनुगमनको सुरुवात गर्दै कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले भने, ‘सरकारका तर्फबाट खरिद भएर ल्याएपछि विभिन्न कारणले ६-७ वर्षदेखि मोबाइल भ्यानहरु त्यत्तिकै थन्किएका रहेछन्, आजदेखि दसैँ, तिहारलाई लक्षित गरेर खाद्य गुण परीक्षणका लागि बजार अनुगमनमा निस्किएका छौँ ।’

मन्त्री अधिकारीले मर्मत गर्न बाँकी रहेका दुईवटा मोबाइल भ्यान पनि यथाशीघ्र मर्मत गरेर पूर्वपश्चिमबाट सञ्चालनमा ल्याइने जानकारी दिए । खानपानका कारण अस्पतालमा बिरामी बढ्दै गएका सन्दर्भ उल्लेख गर्दै उनले उपभोक्ताले म्याद नाघेका, असुरक्षित खाद्य वस्तु खान नपरोस् भनेर बजारमा रहेका खाद्य वस्तुको परीक्षण सुरु गरिएको बताए ।

बाढीपहिरो र डुबानले सबैभन्दा बढी कृषि क्षेत्रमा क्षति मन्त्री अधिकारीले जानकारी दिए । ‘यसबाट करिब ६ अर्बभन्दा बढी कृषि क्षेत्रमा क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ,’ उनले भने, ‘क्षति भएका किसानको राहतका लागि मन्त्रिपरिषदमा छलफल भएको छ ।’

चाँडोभन्दा चाँडो राहत उपलब्ध गराउन पहल गरिरहेको जानकारी उनले दिए । मृतकका परिवार र बेपत्ता भएका परिवारलाई क्षतिपूर्ति दिने कार्य मंगलबारदेखि सुरु भइसकेको र दसैँअगाडि सबै पीडितले राहत पाउने प्रतिबद्धता उनले जनाए ।