काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रिस, दुबईलगायत देशमा पठाइदिने भन्दै लाखौँ रकम ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेहरुमा भक्तपुर नगरपालिका-९ गच्छे टोल घर भई काठमाडौँको टोखा नगरपालिका-७ बस्ने ३४ वर्षीय सुदनराज अमात्य, नुवाकोट तादी गाउँपालिका-३ घर भई काठमाडौँ टोखा नगरपालिका-९ नयाँ बसपार्क बस्ने २८ वर्षीया अन्जना चौलागाईं र गुल्मी मालिका गाउँपालिका-६ घर भई ललितपुर महानगरपालिका-२ गोदावरी बस्ने ३५ वर्षीया विन्दु केसी रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।
सुदनले एक जना पीडितबाट पाँच लाख, अन्जनाले एक जना पीडितबाट दुई लाख ९० हजार र विन्दुले एक जना पीडितबाट एक लाख पाँच हजार लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीका आधारमा पक्राउ गरिएको हो ।
सुदनलाई पुतलीसडकबाट, अन्जनालाई नयाँ बसपार्कबाट र विन्दुलाई ललितपुरको गोदावरीबाट पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जनाएको छ । पक्राउ परेकालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको सूचना अधिकारी आचार्यले जानकारी दिए ।