• Menu

बाढीले बल्खु तरकारी बजारमा तीन करोडको क्षति

नेपाल प्रफिट

२०८१ असोज १४, १७:०३

बाढीले बल्खु तरकारी बजारमा तीन करोडको क्षति

काठमाडौँ । असोज १० देखिको लगातारको वर्षाले काठमाडौँ महानगरपालिका–१४ बल्खुस्थित फलफूल तथा तरकारी बजारमा डुब्दा तीन करोड रुपैयाँबराबरको क्षति भएको छ ।

अविरल वर्षापछि आएको बाढीले बजार क्षेत्र अस्तव्यस्त छ । बजारमा अझै हिलो पन्छाउने कार्य जारी छ । १५ रोपनीमा फैलिएको बजार सूर्यकमल प्रालिले सञ्चालन गर्दै आएको छ । यो बजार बागमती र बल्खु खोलाको प्रभाव क्षेत्रमा पर्छ ।

बजारमा करिब पाँच सय थोक तरकारी तथा कृषि सामग्री बिक्री कक्ष रहेको प्रालिका लेखापाल रेशव जोशीले जानकारी दिए । चार वर्षदेखि थोक पसल चलाइरहेका गोपाल कटुवालले दसैँका लागि २० लाख रुपैयाँको सामान राखेकामा बाढीले सबै नष्ट गरेको गुनासो गरे । उनी बचेको केही सामान जम्मा गरेर हिलो पखालिरहेका थिए ।