• Menu

बाढीका कारण १६ वटा जलविद्युत आयोजनामा क्षति

नेपाल प्रफिट

२०८१ असोज १३, आइतबार १३:४४

बाढीका कारण १६ वटा जलविद्युत आयोजनामा क्षति

काठमाडौँ । अविरल बर्षापछि आएको बाढीपहिरोका कारण विभिन्न १६ वटा जलविद्युत आयोजनामा क्षति पुगेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल इप्पानका अनुसार बाढीका कारण आयोजनाहरुको विद्युत गृह, प्रसारण लाइन तथा अन्य संरचनामा क्षति पुगेको हो ।

हाल ती आयोजनामा भएको क्षतिको विवरण संकलन भइरहेको जानकारी दिँदै इप्पानले थप क्षति भएको हुनसक्ने आकलन गरेको छ ।

नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी माथिल्लो तामाकोशी हाइड्रोपावर लिमिटेडले प्रर्वधन गरेको माथिल्लो तामाकोशीको बाँध स्थल तथा बालुवा थिग्रयाउने पोखरीमा क्षति पुगेको छ । सो आयोजनाको नियन्त्रण कक्ष रहेको भवनमा क्षति पुग्दा सुरक्षाकर्मी र अन्य कामदार गरी चार जना बेपत्ता भएको प्रमुख कार्यकारी अधिकृत मोहन गौतमले जानकारी दिए ।

आयोजना सञ्चालनका लागि तामाकोशी पाँचौको सहयोग लिन लागिएको छ । कूल ४ सय ५६ मेगावाट क्षमताको सो आयोजनाबाट विद्युत उत्पादन बन्द हुँदा बिजुली आयात गर्नु परेको जनाइएको छ ।

बाढी पहिरोका कारण विद्युत उत्पादन केन्द्रमा क्षति पुग्दा बिजुली प्रवाहमा समेत समस्या भएको छ । वैकल्पिक व्यवस्था गरी बिजुली काटिएका स्थानमा उपलब्ध गराइएको र केही स्थानमा भने अझै मर्मत जारी रहेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । प्राधिकरणका बाढीपहिरोका अनुसार देशभर ९ सय ८० मेगावाट घण्टा बराबरको बिजुली आपूर्तिमा अवरोध छ ।

इप्पानका अनुसार मान्डू हाइड्रोपावरद्वारा प्रवद्र्धित २२ मेगावाट क्षमताको बागमति साना जलविद्युत  आयोजनाको ‘पावर हाउस’ पूर्णरुपमा डुबेको छ । खानी खोला हाइड्रोपावर, माण्डु हाइड्रोपावरलगायतका आयोजनाले बाढीका कारण विद्युत उत्पादन बन्द भएको जानकारी नेपाल स्टक एक्सचेञ्जलाई समेत गराएका छन् ।

बाढीका कारण माउन्टेन हाइड्रो नेपालद्वारा प्रवद्र्धित २२.१ मेगावाट क्षमताको तल्लो हेवाखोला जलविद्युत  आयोजनाको बिजुली उत्पादन बन्द भएको छ । सो आयोजना गत वर्ष पनि बाढीबाट प्रभावित भएको थियो । हाल उक्त आयोजनाबाट विद्युत उत्पादन बन्द भएको छ ।

पाँचथर पावरद्वारा प्रवद्र्धित १४.९ मेगावाट क्षमताको हेवाखोला जलविद्युत आयोजाको विद्युत उत्पादन पनि बन्द भएको छ । गत वर्षको बाढीले क्षतिग्रस्त आयोजना पुनःनिर्माण सकेर सञ्चालनमा आउनै लाग्दा आयोजना पुनः क्षतिग्रस्त भएको हो ।

साहस ऊर्जाद्वारा प्रवद्र्धित ८६ मेगावाटको सोलु दुधकोशी जलविद्युत आयोजनाको बाँध स्थलमा क्षति पुग्दा विद्युत उत्पादन बन्द छ । सगरमाथा जलविद्युत  कम्पनीद्वारा प्रवद्र्धित ३ मेगावाट क्षमताको माइखोला क्यासकेड जलविद्युत  आयोजनाको बाँधलगायतका संरचनामा क्षति पुगेको छ ।

इप्पानका अनुसार सगरमाथा जलविद्युत कम्पनीद्वारा प्रवद्र्धित ९.६ मेगावाट क्षमताको माइखोला जलविद्युत आयोजनाको बाँध र प्रसारणलाइनमा क्षति पुगेको छ । फेमे खोला जलविद्युत आयोजना सिउरीखोला पनि बाढीले क्षति पुर्‍याउँदा विद्युत उत्पादन बन्द भएको जनाइएको छ ।

कूल ४० मेगावाट क्षमताको सुपरन्यादी जलविद्युत  आयोजनाको पहुँचमार्ग र सुरक्षा पर्खालमा बाढीका कारण क्षति पुगेको छ । इलेप खोला तातोपानी जलविद्युत  आयोजनामा पनि बाढीले क्षति गरेको छ भने कोरियन लगानी रहेको २ सय १६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली एकको क्याम्प हाउस र पहुँचमार्गमा क्षति भएको छ । निर्माण सामग्री राखिएको तीन वटा कन्टेनर बगाएको छ ।

हेवाखोला जलविद्युत  आयोजनाको क्रसर पुरिएको छ भने पहुँचमार्गमा क्षति भएको छ । यस्तै, बाढीका कारण प्रसारणलाइनको टावर ढलेका छन् भने पावर हाउसमा जडान गर्न ल्याइएका सामग्री बगाएको छ ।

सभाखोला बी जलविद्युत  आयोजनाको पहुँचमार्गमा पहिरोका कारण समस्या उत्पन्न भएको छ । यसैगरी पावरहाउस पुरिएको र बाँधमा क्षति हुन गएको छ । इप्पानका अनुसार सभाखोला सी जलविद्युत  आयोजना पहुँचमार्गमा क्षति पुगेको छ भने लान्द्रुक मोदी जलविद्युत  आयोजनाको पनि सडक पूर्वाधार बगाएको छ ।

बाढीले सुपर त्रिशूली जलविद्युत  आयोजनाको निर्माण उपकरण बगाएको छ । कूल एक सय मेगावाट क्षमताको सो आयोजना निर्माणको क्रममा छ । आयोजनाको दुई वटा वटा स्काभेटर लोडर र तीन वटा ट्रिपर बगाएको छ । त्यस्तै, बेलीब्रिज बगाएको, खन्ने क्रममा रहेको पावर हाउस पुरिएको इप्पानले जनाएको छ ।

बाढीका कारण प्रभावित आयोजनाबाट विद्युत उत्पादन बन्द हुँदा त्यसको चाप प्राधिकरणको प्रणालीमा परेको छ । सोही कारण शनिबार मात्रै प्राधिकरणले भारतबाट थप तीन सय मेगावाट बिजुली आयात गर्नुपरेको थियो ।

प्रतिक्रिया दिनुहोस्