
काठमाडौं । सरकारले विद्युत प्रवाहमा सन्तुलन, वितरण सञ्जाल सुदृढीकरण तथा आवश्यक प्राविधिक सुधारका लागि निरन्तर प्रयास भइरहेको स्पष्ट पारेको छ ।
मनसुनको समयमा विद्युत प्रवाहमा आउने अवरोध न्यूनीकरणका लागि जनशक्तिसहित प्राविधिक उपकरण पूर्वतयारी अवस्थामा राखिएको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ ।
ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत आपूर्तिमा भइरहेको असन्तुलनका बारेमा सेवाग्राहीलाई समयमै सूचना उपलब्ध गराउन तथा विद्युत अवरोध (नो-लाइट) सम्बन्धी गुनासो तत्काल सम्बोधन गर्न झन्डै एक हजार कर्मचारी परिचालन गरिएको बताए ।
गर्मी, हावाहुरी, वर्षाका कारण बेलाबेलामा विद्युत आपूर्तिमा असन्तुलन तथा अवरोध सिर्जना हुँदै आएको छ ।
जीर्ण ट्रान्सफर्मरको प्रतिस्थापन, आवश्यक स्थानमा उच्च क्षमताका नयाँ ट्रान्सफर्मर जडान तथा ब्रेकर प्यानलको स्तरोन्नति लगायतका कार्यलाई उच्च प्राथमिकतामा राखिएको छ ।
गर्मीको समयमा पङ्खा, एसी, फ्रिजलगायत उपकरणको एकैसाथ बढ्दो प्रयोग तथा विद्युतीय सवारीसाधन चार्जसमेत हुँदा विद्युतको माग बढ्न जान्छ । मन्त्रालयले सेवाग्राहीलाई तत्काल सूचना उपलब्ध गराइ गुनासो समाधान गर्न नो-लाइट एकाइ, सवस्टेशन प्रमुख, प्रदेश कार्यालय प्रमुख तथा वितरण शाखाका जिम्मेवार अधिकारीलाई आवश्यक परिपत्र जारी गरिसकेको छ ।
सम्बन्धित निकायबाट आवश्यक जानकारी वा गुनासोको सुनुवाइ नभएमा सेवाग्राहीले मन्त्रालयको हटलाइन नम्बर ११५१ मा आफ्नो विवरणसहित जानकारी उपलब्ध गराउन अनुरोध गरिएको छ ।
सेवाग्राहीका गुनासोप्रति बेवास्ता गर्ने, आफ्नो जिम्मेवारी पूरा नगर्न कर्मचारीमाथि प्रचलित कानुन बमोजिम आवश्यक कारबाही गरिने मन्त्रालयले स्पष्ट पारेको छ ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal