
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादवको कडा निर्देशनपछि वर्षौंदेखि उठ्न नसकेको औद्योगिक क्षेत्रको बक्यौता भाडा असुलीमा उल्लेखनीय प्रगति भएको छ। दुई साताको अवधिमा मात्रै ४२ करोड ५४ लाख ३८ हजार रुपैयाँ बक्यौता रकम संकलन गरिएको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले जनाएको छ ।
लामो समयदेखि भाडा नतिरी बक्यौता राखिरहेका उद्योग तथा कार्यालयबाट तत्काल रकम असुल गर्न मन्त्री यादवले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई निर्देशन दिएकी थिइन् । त्यसलगत्तै लिमिटेडले देशभरका बक्यौताधारी उद्योग तथा कार्यालयविरुद्ध असुली अभियानलाई तीव्र बनाएको थियो ।
लिमिटेडका महाप्रबन्धक पदम ओलीका अनुसार २०४५ सालदेखि केही उद्योगले भाडा बक्यौता राख्दै आएका थिए । बक्यौता असुलीलाई प्रभावकारी बनाउन केही दिनअघि ६३५ उद्योग तथा कार्यालयलाई सार्वजनिक सूचना जारी गरी तत्काल भाडा बुझाउन आग्रह गरिएको थियो। त्यसपछि अधिकांश उद्योगले आफ्नो बक्यौता रकम भुक्तानी गरेका छन् ।
भाडा असुलीलाई थप प्रभावकारी बनाउन लिमिटेडले कानुनी व्यवस्थाअनुसार कडा कदमसमेत चालेको छ । मन्त्री यादवको निर्देशनपछि तोकिएको समयभित्र बक्यौता नतिर्ने उद्योगहरूको विद्युत आपूर्ति बन्द गरिएको थियो। प्रारम्भिक चरणमा करिब २०० भन्दा बढी उद्योगको विद्युत लाइन काटिएकोमा अधिकांशले बक्यौता चुक्ता गरेपछि पुनः विद्युत सेवा सञ्चालन गरिएको छ ।
यद्यपि, अझैसम्म भाडा नतिर्ने ४५ उद्योग तथा कम्पनीको विद्युत लाइन काटिएको छ । बक्यौता पूर्ण रूपमा भुक्तानी नभएसम्म ती उद्योगमा विद्युत आपूर्ति पुनः सञ्चालन नगर्न मन्त्री यादवले स्पष्ट निर्देशन दिएको लिमिटेडले जनाएको छ ।
सबैभन्दा बढी बक्यौता रहेका उद्योगमध्ये कन्टिनेन्टल कम्पोनेन्ट एन्ड सर्भिसेज प्रालिको करिब ३ करोड ६९ लाख रुपैयाँ तथा सोही सञ्चालकको कन्टिनेन्टल सर्भिसेज प्रालिको करिब १ करोड रुपैयाँ भाडा अझै उठ्न बाँकी रहेको छ। यी दुवै कम्पनीविरुद्ध पनि विद्युत लाइन विच्छेदको प्रक्रिया अघि बढाइएको लिमिटेडले जनाएको छ ।
महाप्रबन्धक ओलीका अनुसार बक्यौता असुलीका क्रममा विभिन्न तहबाट दबाब आए पनि मन्त्रालयको स्पष्ट नीति र निर्देशनका कारण छोटो अवधिमै उल्लेखनीय रकम संकलन गर्न सफल भएको हो । उनले औद्योगिक क्षेत्रभित्र बक्यौता राख्ने प्रवृत्ति अन्त्य गर्दै नियमित भाडा भुक्तानीको संस्कार विकास गर्न लिमिटेड प्रतिबद्ध रहेको पनि बताए ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal