• Menu

पर्यटकको बसाइ लम्ब्याउन घोडेपानी-पुनहिलमा नयाँ पूर्वाधार, गुराँसे जंगलभित्रै बन्यो ४ किमी साइकल मार्ग

नेपाल प्रफिट

२०८३ असार १६, १२:४५

पर्यटकको बसाइ लम्ब्याउन घोडेपानी-पुनहिलमा नयाँ पूर्वाधार, गुराँसे जंगलभित्रै बन्यो ४ किमी साइकल मार्ग

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ मा रहेको प्रमुख पर्यटकीयस्थल घोडेपानी-पुनहिलमा पर्यटकीय पूर्वाधार विस्तार भएको छ ।

चालु आर्थिक वर्ष २०८२/८३ मा अन्नपूर्ण गाउँपालिकाले विनियोजन गरेको रु २७ लाख र गण्डकी प्रदेश सरकारको पाँच लाख बजेटबाट साइकल मार्ग, पदमार्ग, सार्वजनिक शौचालय, बसपार्क निर्माण भएको हो ।

अन्नपूर्ण गाउँपालिका-६ का वडाध्यक्ष रामबहादुर खड्काले पुनहिल-घोडेपानी क्षेत्रको पर्यटन पूर्वाधार विस्तारका लागि बजेट बिनियोजन भएका सबै योजना कार्यान्वयन भएका जानकारी दिए ।

‘घोडेपानी र पुनहिल घुम्न आउने पर्यटकको बसाई लम्बाउने उद्देश्यले सहायक गन्तव्यको पहिचान र पूर्वाधार विस्तारको कामलाई निरन्तरता दिएका छौँ,’ उनले भने, ‘विस्तार भएका पूर्वाधारले पर्यटकलाई सहज हुनेछ् ।’

अन्नपूर्ण गाउँपालिकाले चालु आव २०८२/०८३ मा विनियोजन गरेको रु छ लाख बजेटबाट पुनहिलदेखि लुङलुङ सिद्ध, लालीगुराँसपार्क हुँदै घोडेपानीको फलेघर जोड्ने चार किलोमिटर साइकल मार्ग निर्माण भएको छ ।

समुद्री सतहदेखि तीन हजार २१० मिटर उचाइमा रहेको पुनहिलदेखि हिमाल हेर्दै गुराँसे जंगलभित्र साइकलमा साहासिक र रोमाञ्चक यात्रा गर्न पाइन्छ । गाउँपालिकाको १४ लाख बजेटबाट लालीगुराँस पार्क जोड्ने पदमार्ग, प्रवेशद्वार र सार्वजनिक शौचालय निर्माण भएको छ ।

उपभोक्ता समितिका अध्यक्ष रनबहादुर पुनले पदमार्गको हिलो हुने ठाउँमा करिब ३०० मिटर ढलान गरेर पक्की पदमार्ग बनाइएको बताए ।

यसैगरी चार लाख बजेटबाट देउराली डाडाँमा ४० मिटर ढुंगा बिछ्याएर पदमार्ग बनाइएको छ । तीन लाख बजेटबाट तल्लो घोडेपानीमा बसपार्क निर्माण भएको छ । समुदायको अगुवाइमा यसै वर्ष घोडेपानी हुँदै कास्कीको उल्लेरी सडक सञ्जालमा जोडिएको थियो ।

गण्डकी प्रदेश सरकारले विनियोजन गरेको पाँच लाख बजेटबाट घोडेपानीदेखि घान्द्रुक जाने पदमार्ग निर्माण योजना पनि सम्पन्न भएको वडाध्यक्ष खड्काले जानकारी दिए । गण्डकी प्रदेश सरकारको तीन करोड बजेटबाट चित्रेदेखि घोडेपानी जोड्ने चार किलोमिटर सडक ग्राभेल गर्ने योजना निर्माणाधिन छ ।

घोडेपानी र पुनहिल क्षेत्रलाई केन्द्रित गरेर यसअघि लालीगुराँस पार्क, पेरीभारानी ताल जोड्ने घोडा मार्ग सञ्चालन गरिएको थियो । सडकका कारण पुराना पदमार्ग विस्थापित भएको अवस्थामा पर्यटकको बसाई लम्बाउनका लागि पर्यटकको चाहनाअनुसार राम्चे-काफलडाँडा, हिस्तान टिकोट, शिख, खिवाङ जोड्ने साइकलमार्गको पनि सम्भाव्यता अध्ययन गरिएको अन्नपूर्ण गाउँपालिकाका पूर्वअध्यक्ष समेत रहेका घोडेपानीका बासिन्दा डमबहादुर पुनले बताए ।

घोडेपानीदेखि ४५ मिनेट उकालोमा पदयात्रा गरेपछि पुगिने पुनहिलबाट गुर्जा, पुथा, मानापाथी, नीलगिरि, अन्नपूर्ण र माछापुच्छ्रे हिमशृङ्खलाको दृष्यावलोकन गर्न सकिन्छ । घोडेपानी-पुनहिल विश्व प्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख पर्यटकीय गन्तव्य हो ।