काठमाडौं । व्यवसायी करण चौधरी नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको भावी अध्यक्ष बन्ने भएका छन् । आकाश गोल्छा र प्रकाश कपुरीले आफ्नो अडानबाट पछि हट्दै चौधरीलाई अध्यक्षमा समर्थन गर्ने निर्णय गरेका हुन् ।
नाडाका अध्यक्ष ध्रुव थापासहितका पूर्वअध्यक्षहरुको अध्यक्षमा सहमति खोज्ने प्रयासस्वरुप नाडाले आगामी २ वर्षे कार्यकालका लागि सीजी होल्डिङ्सका चौधरीलाई अध्यक्ष सर्वसम्मत गरेको हो ।
सहमति खोज्ने उपायस्वरुप नाडामा आगामी कार्यकालदेखि वरिष्ठ उपाध्यक्ष पदसमेत सिर्जना गरिने भएको छ । वरिष्ठ उपाध्यक्ष पद जीओ अटोमोबाइल्सका आकाश गोल्छालाई दिने सहमति भएको छ ।
पुस २० र २१ गते हुने नाडाको ४७औं वार्षिक साधारण सभाबाट नयाँ कार्यसमिति घोषणा हुनेछ । सहमतिअनुसार दुई वर्षे नयाँ कार्यसमितिको नेतृत्व चौधरीले गर्नेछन् । नाडाको अन्य पदाधिकारीमा भने सहमति जुटेको छैन ।