• Menu

विदेशी विनिमय सञ्चिति १५ अर्ब ५८ करोड डलर, १६.७ महिनाको वस्तु आयात गर्न पर्याप्त

नेपाल प्रफिट

२०८१ असोज १०, बिहीबार १४:४२

विदेशी विनिमय सञ्चिति १५ अर्ब ५८ करोड डलर, १६.७ महिनाको वस्तु आयात गर्न पर्याप्त

काठमाडौं । विदेशी विनिमय सञ्चिति १५ अर्ब ५८ करोड डलर पुगेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को पहिलो महिनाको तथ्यांकमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार अमेरिकी डलरमा विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८१ साउन मसान्तमा २ प्रतिशतले वृद्धि भई १५ अर्ब ५८ करोड पुगेको हो ।

२०८१ असारसम्म २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २.५ प्रतिशतले बढेर २०८१ साउन मसान्तमा २० खर्ब ९२ अर्ब २२ करोड रुपैयाँ पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८१ असार

मसान्तमा १८ खर्ब ४८ अर्ब ५५ करोड रहेकोमा २०८१ साउन मसान्तमा १.९ प्रतिशतले वृद्धि भई १८ खर्ब ८३ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तमा १ खर्ब ९२ अर्ब ५५ करोड रहेकोमा २०८१ साउन मसान्तमा ८.४ प्रतिशतले वद्धि भई २ खर्ब ८ अर्ब ७९ करोड रुपैयाँ कायम भएको छ । २०८१ साउन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.६ प्रतिशत छ ।

आर्थिक वर्ष २०८१/८२ को पहिलो महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १६.७ महिनाको वस्तु आयात र १३.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

२०८१ साउन मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगको अनुपात क्रमशः ३६.७ प्रतिशत, ११२.५ प्रतिशत र ३०.३ प्रतिशत छ । २०८१ असार मसान्तमा ३५.८ प्रतिशत, १०८.६ प्रतिशत र २९.३ प्रतिशत थियो ।

प्रतिक्रिया दिनुहोस्