• Menu

चिनियाँ समकक्षीसँगको भेटमा अर्थमन्त्री पौडेलद्वारा ठूला परियोजना अघि बढाइदिन अनुरोध, चीन सकारात्मक

नेपाल प्रफिट

२०८१ असोज ९, बुधबार १०:५५

चिनियाँ समकक्षीसँगको भेटमा अर्थमन्त्री पौडेलद्वारा ठूला परियोजना अघि बढाइदिन अनुरोध, चीन सकारात्मक

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच चीनको राजधानीमा बेइजिङमा भेटवार्ता भएको छ । सो अवसरमा दुई देशका आफसी हित र सहयोगबारे छलफल भएको छ ।

भेटका क्रममा चीनका उपप्रधामन्त्री हि लिफेङले चीन सरकारको तर्फबाट विगतमा गरिएका घोषणा एवं सहमतिबमोजिम सहयोगका परियोजनाहरुको कार्यान्वयनलाई तीव्रता दिने बताए । उनले आगामी दिनमा नेपाललाई थप सहयोग गर्ने प्रतिबद्धता पनि जनाए ।

अर्थमन्त्री पौडेलले केरुङ-काठमाडौं रेलमार्ग निर्माण, टोखा-छहरे सुरुङ मार्ग, किमाथाङ्का-हिले, हिल्सा-सुर्खेत-भुरीगाउँ सडक, मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय, दमक औद्योगिक पार्कलगायतका पूर्वाधार निर्माणलाई अघि बढाउन अनुरोध गरेका छन् ।

उनले चीनका विभिन्न सहरबाट भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सीधा हवाई सेवा विस्तारका लागि सहयोग गर्न पनि आग्रह गरे ।

भ्रमण टोलीमा रहेका अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईले नेपालको तर्फबाट गरिएको अनुरोधका विषयप्रति चीन सरकार सकारात्मक रहेको र काम अघि बढाउने प्रतिबद्धता व्यक्त भएको जानकारी दिए ।

करिब एक घण्टा भएको भेटवार्तामा नेपालका तर्फबाट अर्थमन्त्री पौडेल, चीनका लागि नेपालका कार्यबाहक राजदूत सुरेन्द्र यादव, अर्थ मन्त्रालयका प्रवक्ता भट्टराई र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अधिकारीहरु सहभागी थिए ।

चीन सरकारको तर्फबाट उपप्रधानमन्त्री हि लिफेङ, यातायातमन्त्री लि स्याओफङ, बेइजिङ महानगरका मु फङ, नेसनल रेलवे एडमिनिस्ट्रेसन प्रमुख फे दोङ विङ, नागरिक उडड्यन प्रमुख सोङ च्योङलगायतको सहभागिता रह्यो ।

प्रतिक्रिया दिनुहोस्