• Menu

विद्युतीय सवारी साधनमा उच्च आकर्षण, दुई महिनामै १६ सय ईभी आयात, चीनबाट ७० प्रतिशत

नेपाल प्रफिट

२०८१ असोज ८, मंगलबार १६:०२

विद्युतीय सवारी साधनमा उच्च आकर्षण, दुई महिनामै १६ सय ईभी आयात, चीनबाट ७० प्रतिशत

काठमाडौं । विद्युतीय सवारी साधनको प्रयोगमा उच्च आकर्षण देखिएको छ । प्रदूषण कम गर्ने र वातावरणीय स्वच्छता बढाउने विश्वव्यापी अभियानमा सहभागी हुँदै नेपालले कर थोरै लगाएपछि विद्युतीय सवारी साधनको प्रयोग उच्च दरमा बढेको हो ।

लागत पनि कम र मासिक खर्च पनि न्यून आउने भएपछि प्रयोगकर्ता विद्युतीय सवारी साधनको प्रयोगमा आकर्षित भएका छन् । गत आर्थिक वर्ष २०८०/८१ को साउन र भदौमा ८९५ वटा ईभी (कार, जिप र भ्यान) आयात भएकोमा चालु आवको सोही अवधिमा १६ सय दुईवटा आयात भएका छन् ।

गत वर्ष ८९५ वटा विद्युतीय कार आयात हुँदा २ अर्ब ४० करोड ८७ लाख रुपैयाँ बाहिरिएको थियो भने सरकारले १ अर्ब ९ करोड ३९ लाख रुपैयाँ कर प्राप्त गरेको थियो ।

चालु आवको पहिलो दुई महिनामा १६ सय दुईवटा विद्युतीय कार आयात हुँदा ३ अर्ब ८१ करोड ९१ लाख रुपैयाँ बाहिरिएको भने सरकारले २ अर्ब ३० करोड ३३ लाख रुपैयाँ कर आम्दानी गरेको छ । नेपालमा मुख्यगरी चीन र भारतबाट विद्युती कार आयात हुने गरेका छन् ।

दुई महिनामा सबैभन्दा धेरै ५१ देखि १०० किलोवाटसम्मका ९३८ विद्युतीय कार भित्रिएका छन् । त्यस्तै ५० किलोवाटसम्मका ५६० वटा, १०१ देखि २०० किलोवाटसम्मका ९९ वटा, २०१ देखि ३०० किलोवाटसम्मका तीनवटा र तीन सय किलोवाटभन्दा माथिका दुईवटा कार आयात भएका छन् ।

समीक्षा अवधिमा चीनबाट सबैभन्दा धेरै ११ सय २५ वटा कार आयात भएका छन् भने भारतबाट ४४५ वटा आयात भएका छन् । यो अवधिमा अमेरिका र जर्मनीबाट एउटा-एउटा आयात भएको भन्सार विभागको तथ्यांकले देखाउँछ । चीनबाट कुल आयातको ७०.२२ प्रतिशत आयात भएको छ ।

विद्युतीय सवारी विक्रेताहरु बीवाईडीको नेपालका लागि आधिकारिक विक्रेता साइमेक्स इंक प्रालि, टाटा मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालि र एमजीको आधिकारिक विक्रेता पारामाउन्ट मोटर्सलगायत छन् ।

त्यस्तै एमएडब्लू इन्टरप्राइजेजले बिक्री गरिरहेको नामी, सेरेस एवं निटा भीको विक्रेता सीजी मोटरलगायतले विद्युतीय सवारी बेचिरहेका छन् ।

यसैबीच, वैदेशिक व्यापारमा नेपालले २ महिनामै २ खर्ब ३७ अर्ब व्यापार घाटा व्यहोरेको छ । आयात सामान्य बढे पनि निर्यात बढ्न नसक्दा व्यापार घाटा चुलिएको हो ।

गत आर्थिक वर्ष २०८०/८१ को साउन र भदौमा २ खर्ब ३३ अर्ब ३० करोड रुपैयाँको व्यापार घाटा व्यहोरेको नेपालले चालु आवको सोही अवधिमा २ खर्ब ३७ अर्ब ४४ करोड रुपैयाँबराबरको घाटा व्यहोरेको छ ।

समीक्षा अवधिमा नेपालले २ खर्ब ६२ अर्ब ५४ लाख रुपैयाँबराबरको वस्तु तथा सेवा आयात गर्दा २५ अर्ब ९ करोड रुपैयाँको मात्र निर्यात गरेको छ । गत वर्ष नेपालले साउन र भदौमा २ खर्ब ५९ अर्ब रुपैयाँको आयात गर्दा २६ अर्ब ४४ करोड रुपैयाँको निर्यात गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्