• Menu

आयात बढ्यो, दुई महिनाको व्यापार घाटा २ खर्ब ३७ अर्ब

नेपाल प्रफिट

२०८१ असोज ८, मंगलबार १५:४०

आयात बढ्यो, दुई महिनाको व्यापार घाटा २ खर्ब ३७ अर्ब

काठमाडौं । वैदेशिक व्यापारमा नेपालले २ महिनामै २ खर्ब ३७ अर्ब व्यापार घाटा व्यहोरेको छ । आयात सामान्य बढे पनि निर्यात बढ्न नसक्दा व्यापार घाटा चुलिएको हो ।

गत आर्थिक वर्ष २०८०/८१ को साउन र भदौमा २ खर्ब ३३ अर्ब ३० करोड रुपैयाँको व्यापार घाटा व्यहोरेको नेपालले चालु आवको सोही अवधिमा २ खर्ब ३७ अर्ब ४४ करोड रुपैयाँबराबरको घाटा व्यहोरेको छ ।

समीक्षा अवधिमा नेपालले २ खर्ब ६२ अर्ब ५४ लाख रुपैयाँबराबरको वस्तु तथा सेवा आयात गर्दा २५ अर्ब ९ करोड रुपैयाँको मात्र निर्यात गरेको छ । गत वर्ष नेपालले साउन र भदौमा २ खर्ब ५९ अर्ब रुपैयाँको आयात गर्दा २६ अर्ब ४४ करोड रुपैयाँको निर्यात गरेको थियो ।

कुल वैदेशिक व्यापार भने गत वर्षको भन्दा सामान्य बढेको छ । गत वर्ष २ महिनामा २ खर्ब ८६ अर्ब १९ करोडको वैदेशिक व्यापार गरेको नेपालले चालु आवको सोही अवधिमा २ खर्ब ८७ अर्ब ६३ करोड रुपैयाँबराबरको वैदेशिक व्यापार गरेको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।

समीक्षा अवधिमा नेपालको निर्यात ५.१२ प्रतिशतले घटेको छ भने आयात १.०८ प्रतिशतले बढेको छ । आन्तरिक अर्थतन्त्रमा सुधार हुँदै जाँदा माग बढेका कारण आयात बढेको हो ।

प्रतिक्रिया दिनुहोस्