• Menu

बाँसबारी-बूढानीलकण्ठ सडकखण्ड तत्काल कालोपत्रे गर्न स्वास्थ्यमन्त्री पौडेलको निर्देशन

नेपाल प्रफिट

२०८१ असोज ८, १४:२४

बाँसबारी-बूढानीलकण्ठ सडकखण्ड तत्काल कालोपत्रे गर्न स्वास्थ्यमन्त्री पौडेलको निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले खानेपानी तथा विद्युत प्रसारण लाइन विस्तारका कारण भत्काइएको बाँसबारी-बूढानीलकण्ठ सडकको अवस्थाबारे जानकारी लिएका छन् ।

काठमाडौँ महानगरपालिका-५ बाट निर्वाचित मन्त्री पौडेलले तीन साताअघि मेलम्ची खानेपानी आयोजना तथा नेपाल विद्युत प्राधिकरणले समयमै मर्मत नगरेपछि धुलोबाट नागरिकले सास्ती पाएको भन्दै तत्काल कालोपत्रको काम अघि बढाउने व्यवस्था मिलाउन सम्बद्ध निकायलाई आग्रह गरेका छन् ।

एक वर्षअघि नै काम थालिए पनि सम्बद्ध तीन निकायबीच समन्वयको अभावमा काम नभएपछि नागरिकलाई परेको समस्या हटाउने पहलकदमी मन्त्री पौडेलले थालेका हुन् ।

डिभिजन सडक कार्यालय, मेलम्ची खानेपानी आयोजना तथा नेपाल विद्युत प्राधिकरणका अधिकारीसँग स्थलगत निरीक्षण गरेर काममा ढिलाइ नगर्न उनले आग्रह गरे ।

सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र अघिको ३०० मिटर खण्डमा कालोपत्रको तयारी थालिएको थियो । सडकमा माटो बिच्छ्याए पनि कालोपत्र गर्ने काम अघि नबढेको गुनासो आएपछि मन्त्री पौडेलले सम्बद्ध अधिकारीको ध्यानाकर्षण गराएको उनको निजी सचिवालयले जनाएको छ ।