काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक उच्च अंकले बढेको छ । सोमबार नेप्से परिसूचक ३८.१४ अंकले उकालो लागेर २०६०.४९ अंकमा पुगेको छ ।
ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक ९.५६ अंकले उकालो लागेर ३९०.६३ अंकमा पुगेको छ । कारोबार भएका १३ उपसमूहमध्ये एक उपसमूहको सेयर मूल्यमा गिरावट आएको छ भने १२ उपसमूहको सेयर मूल्य बढेको छ ।
आज २ करोड १४ लाख ९७ हजार ६१९ कित्ता सेयर ६ अर्ब ८६ करोड ८१ लाख ७७ हजार ५५६ रुपैयाँमा कारोबार भएको छ । कारोबार भएकामध्ये हिमाल दोलखा हाइड्रोपावर शीर्ष स्थानमा छ । सो कम्पनीको २६ करोड २६ लाख ७४ हजार ४७२ रुपैयाँबराबरको सेयर किनबेच भएको छ ।
त्यस्तै सोनापुर मिनरल्स २० करोड २८ लाख ४६ हजार, सोल्टी होटल १८ करोड ४३ लाख ४७ हजार, शिवम् सिमेन्ट १६ करोड ८३ लाख ९६ हजार र घोराही सिमेन्ट १४ करोड ३३ लाख २० हजार रुपैयाँबराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।
बोटलर्स नेपाल, सूर्यज्योति लाइफ इन्स्योरेन्स, स्वरोजगार लघुवित्त विकास बैंक, जीवन विकास लघुवित्त, बीपीडब्लू लघुवित्त वित्तीय संस्था र हाथवे इन्भेस्टमेन्टको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
त्यस्तै, हिमालयन पावर पाटनर्स, डोल्टी पावर कम्पनी, अप्पर स्याङ्गे हाइड्रोपावर, मोदी इनर्जी र माई खोला हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।
आज जलविद्युत समूहका लगानीकर्ताले ‘प्रफिट बुक’ गर्दा सो समूहमा बिक्री चाप बढेको थियो ।