काठमाडौं । स्थानीय तहको निर्वाचनको तयारीलाई लक्षित गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राष्ट्रिय कार्यकर्ता भेला बुधबारदेखि काठमाडौंमा सुरु हुँदैछ ।
भेलामा सहभागी हुन पार्टीका केन्द्रीय कमिटी सदस्य, प्रदेश तथा जिल्ला पदाधिकारी, पालिका कमिटीका अध्यक्ष र उपाध्यक्ष, जनसंगठनका प्रतिनिधि, केन्द्रीय निकायका सदस्य, संघीय तथा प्रदेश सांसद र स्थानीय तहका प्रमुख तथा उपप्रमुख काठमाडौं आइसकेका छन् ।
एमालेका उपमहासचिव लेखराज भट्टले राष्ट्रिय कार्यकर्ता भेलामा सहभागी हुन पार्टीका विभिन्न तहका नेता तथा प्रतिनिधि काठमाडौं आइपुगेको जानकारी दिए ।
भेलालाई पार्टी अध्यक्ष केपी शर्मा ओली, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, रामबहादुर थापा, विष्णु पौडेल र शङ्कर पोखरेलले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
स्थानीय तहको निर्वाचनलाई लक्षित गरी आयोजना गरिएको भेलामा पार्टीको चुनावी तयारी, संगठन परिचालन तथा आगामी रणनीतिबारे छलफल हुने अपेक्षा गरिएको छ ।