• Menu

एनपीएल एलिमिनेटरमा काठमान्डु र चितवन भिड्दै

नेपाल प्रफिट

२०८३ मंसिर २, बुधबार ११:३२

एनपीएल एलिमिनेटरमा काठमान्डु र चितवन भिड्दै

काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज हुने ‘एलिमिनेटर’ खेलमा काठमान्डु गोर्खाज र चितवन राइनोज भिड्दै छन् ।

कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा अपराह्न ५:०० बजे सुरु हुने खेलको विजेता टोलीले क्वालिफायर-२ मा स्थान बनाउनेछ । उक्त खेलमा विजेताले क्वालिफायर-१ मा पराजित सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ । सुदूरपश्चिम मंगलबार भएको क्वालिफायर-१ मा लुम्बिनी लायन्ससँग चार विकेटले पराजित भएको थियो ।

आजको खेलमा पराजित हुने टोली भने प्रतियोगिताबाट बाहिरिनेछ । जारी प्रतियोगितामा काठमान्डुले लिग चरणका सात खेलमध्ये चारमा जित र तीनमा हार व्यहोरेको थियो ।

चितवनले सात खेलमध्ये तीनमा जित, तीनमा हार र एक खेलमा वर्षाका कारण अंक बाँडेको थियो । लिग चरणमा यी दुई टोलीबीच भएको पहिलो भेटमा काठमान्डुले चितवनलाई १० रनले पराजित गरेको थियो ।

पहिलो खेलमा बेहोरेको हारको बदला लिँदै क्वालिफायर-२ मा पुग्ने लक्ष्यसहित चितवन मैदान उत्रनेछ । करण केसीको कप्तानीमा रहेको काठमान्डु भने चितवनविरुद्धको जितलाई निरन्तरता दिने योजनामा हुनेछ ।