काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत बिहीबारको दोस्रो खेलमा कर्णाली याक्सले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ।
त्रिवि क्रिकेट मैदानमा भएको टसमा कर्णालीका कप्तान सोमपाल कामीले टस जित्दै विराटनगर किंग्सलाई पहिले ब्याटिङको निम्ता दिएका हुन्।
तर, टस भइसके पनि मैदानमा भइरहेको छिटपुट वर्षाका कारण खेल सुरु हुने समय प्रभावित हुन सक्ने देखिएको छ। वर्षाबाट मैदानलाई जोगाउन मुख्य पिचलाई त्रिपालले ढाकिएको छ भने आउटफिल्ड भने खुला राखिएको छ।
वर्षा भइरहेकै अवस्थामा अम्पायरले छाता ओढेर टस गराएका थिए। टसपछि दुवै टोलीका खेलाडी वार्मअपका लागि मैदानमा निस्किएका छन्।
कर्णाली याक्स र विराटनगर किंग्सबीचको यो खेलमा वर्षा बाधक बन्ने वा नबन्ने भन्ने विषयले खेलको सुरुवातलाई प्रभाव पार्न सक्नेछ।