काठमाडौं । गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन कानुनमा सुधारको तयारी भइरहेको बताएका छन् ।
एकहत्तरौँ प्रहरी दिवसको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा मन्त्री गुरुङले संगठनको सुधारका लागि नयाँ प्रहरी विधेयकमा काम भइरहेको बताए ।
मन्त्री गुरुङले भने, ‘प्रहरीलाई उत्प्रेरित गर्ने गरी कानुनमार्फत सेवासुविधा थप गर्न वर्तमान सरकारले पहल गरिरहेको छ । आवास, स्वास्थ्यलगायतका सेवा सुविधा तथा सरुवा-बढुवालाई व्यवस्थित गरिनेछ ।‘ प्रहरीको उनले प्रहरीका सबै कार्यालयलाई डिजिटल बनाउने व्यवस्था मिलाउने काम अगाडि बढिरहेको बताए ।
गृहमन्त्री गुरुङले आगामी दिनमा अवकाशप्राप्त सुरक्षाकर्मीको आत्मसम्मान अभिवृद्धिका साथै उनीहरूको ज्ञान र सीप उपयोग गर्ने सोच समेत अगाडि बढाइने जानकारी दिए ।
उनले अपराधले सीमा नचिन्ने उल्लेख गर्दै अन्तरदेशीय अपराध नियन्त्रण तथा अनुसन्धान गर्न सक्षम निकायका रूपमा नेपाल प्रहरी स्थापित हुन जरुरी रहेको जनाए ।
गृहमन्त्री गुरुङले भने, ‘हालै भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक सदस्य राष्ट्रका गृहमन्त्रीको पहिलो बैठक एवं भारतीय समकक्षीसँग भएको वार्तामा सीमापार अपराध नियन्त्रणका लागि सूचना आदानप्रदान र प्रविधिको उपयोगजस्ता विषयमा सहकार्य बढाउन जोड दिएको छु । क्षेत्रीय संयन्त्रबाट सिर्जना भएको अवसरलाई नेपालको आन्तरिक सुरक्षा बलियो बनाउन उपयोग गर्नुपर्छ ।’
उनले राज्यका संवेदनशील सूचना चुहाउनेलाई उन्मुक्ति नदिइने स्पष्ट पार्दै सूचनाको संरक्षण र गोपनीयता कायम राख्न जिम्मेवार बन्न निर्देशन दिए ।
गृहमन्त्री गुरुङले आर्टिफिसियल इन्टेलिजेन्स (एआई), डिजिटल फोरेन्सिक, साइबर तथा वित्तीय अपराध अनुसन्धान र डिएनए फोरेन्सिक तथा डिएनए प्रोफाइलिङजस्ता आधुनिक विषयमा क्षमता बढाउन पनि निर्देशन दिए ।
उनले प्रहरीको बर्दी डर र त्रासको नभई आशा, भरोसा र नागरिक-प्रहरी सहकार्यको प्रतीक बनाउन आग्रह गरे । ‘नयाँ पुस्ताले सोधेको छ- राज्य हाम्रो लागि काम गर्छ कि गर्दैन रु मेरो भविष्य मेरो देश, मेरो मातृभूमिमै उज्ज्वल बन्छ कि बन्दैन रु यो विषय प्रहरी कार्यालय र यहाँहरूले देखाउने व्यवहार, निष्पक्ष अनुसन्धान तथा विपद्का समयमा गरिने उद्धारले समेत निर्धारण गर्नेछ,’ गृहमन्त्री गुरुङले भने ।
उनले विपद् उद्धारमा खटिएका सुरक्षाकर्मीलाई जोखिम भत्ता तथा खाजा खर्चको प्रबन्ध भइसकेको तथा हालै नेपाल प्रहरीको संगठन तथा व्यवस्थापन सर्वेक्षणमार्फत दरबन्दी थप गर्न प्रस्ताव गरिएको जानकारी दिए ।
नेपाल प्रहरीका लागि आवश्यक पूर्वाधार र प्रविधिमा लगानी गर्नु आफ्नो पहिलो प्राथमिकता रहेको उल्लेख गर्दै मन्त्री गुरुङले नयाँ सरकार नयाँ जोश, जाँगर र मानसिकताका साथ जनताको सेवामा जुटेको बताए ।
उनले भने, ‘नागरिकले राज्यसँग राखेको अपेक्षा पूरा गर्न सरकारको गति र भावनाअनुसार तपाईंहरूले समेत व्यावहारिक र व्यावसायिक रूपमा आफूलाई रूपान्तरण गर्दै जान जरुरी छ । अबका दिनमा गुनासो तथा जाहेरी दर्तादेखि अनुसन्धानको क्रममा नागरिकलाई केन्द्रमा राखी कार्य सम्पादन गर्नुहोला ।‘
उनले प्रहरीलाई आफ्नो आचरण र कार्यशैली नागरिकमैत्री बनाउन तथा अपराध नियन्त्रणमा शून्य सहनशीलता अपनाउन निर्देशन दिए ।
त्यस अवसरमा गृहमन्त्री गुरुङले कर्तव्य पालनाका क्रममा ज्यान गुमाएका सम्पूर्ण अमर प्रहरीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरे । उनले भने, ‘गत भदौ १० गते रसुवाको भोटेकोशी र त्यसपछि मनाङ, मुस्ताङ तथा बूढीगण्डकीको बाढीलगायतका विपद्का घटनामा आफ्नै सहकर्मीले ज्यान गुमाउँदा पनि अविचलित रही उद्धारमा खटिएर प्रहरीले देखाएको साहसको मैले उच्च मूल्यांकन गरेको छु ।’ रासस