काठमाडौं । दसैँ नजिकिएसँगै काठमाडौं उपत्यकाबाट गाउँघर फर्किने सर्वसाधारणको भीडभाड बढिसकेको छ । घटस्थापनापछि दसैँलगायतका चाडपर्व मनाउनको लागि बाहिरिने सर्वसाधारणको संख्या वृद्धि भइरहेको छ ।
वर्षदिनमा आउने चाड र इष्टमित्र र आफन्तसँगको पारिवारिक मिलन पनि हुने भएकाले पनि सर्वसाधारण ट्राफिक जाम, असुरक्षित यात्रा गरेरै भए पनि आआफ्नो गाउँघरमा फर्किने क्रम जारी नै छ । कमजोर सडक संरचना, ट्राफिक जामलगायतका अवरोधलाई छिचोल्दै सर्वसाधारण आआफ्नो गाउँघर फर्किरहेका छन् ।
गोदावरी नगरपालिका कैलालीका अमर महता पनि आफ्नो परिवारसहित दसैँ मनाउन घर जान लागेको बताए । ‘हवाई टिकट महँगिएर छोइसक्नुभएको छ । हामी त बस चढेर नै दसैँ मनाउनको लागि घर जान लागेका छौँ,’ उनले भने, ‘अहिलेको सडकको अवस्था हेर्दा त जाम पनि डर लाग्छ तर वर्षदिनमा आउने चाड मनाउन त जानुपर्यो नि !’
उनी मात्रै होइन, काठमाडौं उपत्यकाभन्दा बाहिर घर रहेका ७४ वटै जिल्लाका सर्वसाधारण दसैँलगायतका पर्व मनाउनको लागि आआफ्नो घर फर्किंदै छन् । पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले २०८३ दसैँ पर्वको लागी सार्वजनिक यातायातको यात्रा व्यवस्थापनसम्बन्धी प्रतिवेदनअनुसार दसैँमा सार्वजनिक यातायातमार्फत उपत्यका छोड्ने यात्रुहरुको संख्या न्यूनतम ६ लाख ५० हजारदेखि अधिकतम नौ लाख ७५ हजार जना बाहिरिने प्रक्षेपण गरिएको बताए ।
‘दसैँमा यात्रुलाई आआफ्नो गाउँघर पुर्याउनको लागि न्यूनतम ४३ हजारदेखि ६५ हजार सार्वजनिक सवारीसाधनका ‘ट्रिप’हरुको आवश्यकता पर्ने, उनले भने, ‘सो प्रतिवेदनले दसैँमा यात्रा गर्ने यात्रुको अल्पकालीन र दीर्घकालीनलगायतका समस्याको समाधानको बाटो पनि पहिल्याएको छ ।’ यसमध्ये ठूला बसहरूको हिस्सा ४८ प्रतिशतभन्दा धेरै यात्रु ओसार्ने बताइन्छ । त्यसैगरी माइक्रोबसले ४३ प्रतिशत र मिनीबसले नौ प्रतिशत हिस्सा ओगट्नेछ ।
पूर्वाधार विकास समितिका सभापति गजुरेलको नेतृत्वमा १७ सदस्यीय अध्ययन टोलीले सो प्रतिवेदन तयार पारेको हो । सो प्रतिवेदनअनुसार यसपालिको दसैँमा सबैभन्दा बढी चाप असोज ३१ (फूलपाती) देखि कात्तिक २ (अष्टमी)सम्मको तीन दिनको अवधिमा हुने बताइन्छ । प्रतिवेदनअनुसार असोज ३१ गते फूलपातीको दिन न्यूनतम ७५ हजार ५२२ देखि अधिकतम एक लाख १३ हजार २८३ यात्रुले यात्रा गर्ने अनुमान गरिएको छ । फूलपातीको दिनमा न्यूनतम चार हजार ९११ देखि अधिकतम सात ३७६ सवारीसाधन आवश्यक पर्नेछ ।
त्यसैगरी कात्तिक १ गते न्यूनतम ६७ हजार २४३ र अधिकतम एक लाख ८६४ जना यात्रुले यात्रा गर्ने अनुमान छ । त्यसका लागि न्यूनतम चार हजार ४६३ र अधिकतम ६ हजार ६९५ वटा सवारीसाधन आवश्यक पर्नेछ । यस्तै कात्तिक २ गते न्यूनतम ५० हजार ३११ देखि अधिकतम ७५ हजार ४६६ जना यात्रुको लागि न्यूनतम दुई हजार ८१८ र अधिकतम हजार २२७ सवारीसाधन आवश्यक पर्ने बताइन्छ । कात्तिक ३ गते न्यूनतम् ३६ हजार ४४१ र अधिकतम ५४ हजार ६६१ जना यात्रु उपत्यका बाहिरिनेछन् । यसका लागि न्यूनतम एक हजार ८२६ र अधिकतम दुई हजार ७३९ वटा सार्वजनिक सवारीसाधन आवश्यक पर्नेछ ।
कमजोर सडक संरचनाले यात्रा गर्न चुनौती थपिँदै
गत भदौ १० गते रसुवा भोटेकोशीमा गएको बाढीपछि त्रिशूली नदीको बहावले पटक-पटक पृथ्वी राजमार्गअन्तर्गतको विभिन्न खण्डमा सडक भासिने समस्याले भने सर्वसाधारण ढुक्क भएर यात्रा गर्न भने डराइरहेका छन् । बिपी राजमार्गमा पनि पटक-पटक पहिरो जाने समस्याले पनि विभिन्न खालका बाधा अड्चन आइरहेको छ ।
अर्कोतर्फ गत असोज १५ गते बूढीगण्डकी नदीमा आएको बाढीले पनि आरुघाट गाउँपालिका वडा नं २ र ३ जोड्ने सोतीमा रहेको पक्की फलामे पुलमा क्षति हुँदा पनि आवतजावतमा समस्या ल्याएको छ । गोरखाको आरुघाट गाउँपालिकास्थित फलामे पक्की पुललगायतको संरचनामा क्षति भएकाले पनि गत असोज २५ गतेदेखि सो खण्डको सडक अवरुद्ध छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाले राष्ट्रिय राजमार्गहरु दयनीय भएकाले पनि यात्रुलाई सुरक्षित ढंगले आफ्नो गन्तव्यमा पुर्याउने चुनौती रहेको बताए । ‘हामीले दसैँलगायतका चाडपर्व मनाउने सर्वसाधारणलाई सुरक्षित ढंगले घर पुर्याउनका लागि यातायात व्यवसायीले आवश्यक समन्वय र सहकार्य गरिरहेका छौँ,’ उनले भने, ‘राजमार्गहरुको अवस्था निकै खराब भएकाले पनि यात्रुलाई कसरी सुरक्षित गन्तव्यमा पुर्याउने भन्ने चुनौती कायमै छ ।’
पूर्वाधार विकास समितिका सभापति गजुरेलले भोटेकोशी बाढी र अन्य जिल्लामा आएको अविरल वर्षाले मुलुकका विभिन्न राजमार्ग र पुललगायतका संरचनामा हुनसक्ने क्षति र असरलाई मध्यनजर गर्दै व्यवस्थित ढंगले यातायातको प्रबन्ध मिलाउनको लागि सरोकारवाला निकायलाई ध्यानाकर्षण गराएको बताए । ‘राज्यको धेरै जनशक्ति र स्रोत सडक खुलाउन र मर्मत गर्न लगाउनुपर्ने अहिलेको आवश्यकता रहेको छ,’ उनले भने, ‘यात्रुको सुरक्षालाई ध्यान दिँदै सहजतापूर्वक चाडपर्व मनाउन घर जाने व्यवस्था गर्न आवश्यक छ ।’
सडक विभागले सम्भावित विपद् र दुर्घटनालाई ध्यानमा राखी ५३ वटा ठूला डोजर, स्काभेटर, लोडर आदि तयारी अवस्थामा राखेको जनाएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पनि दसैँको समयमा काठमाडौं उपत्यकाभित्रको ट्राफिक व्यवस्थापनको लागि एक हजार ३०० भन्दा धेरै ट्राफिक जनशक्ति परिचालन हुने जनाएको छ । चाडपर्वको मुख्य समयमा अधिकृत तथा जवानहरूलाई लामो समय (१५-१६ घण्टासम्म) सम्म ड्युटीमा खटाउने कार्यतालिका रहेको छ ।
प्रतिवेदनले पनि दसैँको समयमा सञ्चालनमा आउने सवारीसाधन र चालक जाँचलाई पनि उच्च प्राथमिकतामा राख्नको लागि सुझाव दिएको छ । सो अवधिमा ट्राफिक प्रहरीले सवारीसाधनको प्राविधिक अवस्था (फिटनेस), कागजात तथा चालक अनुमतिपत्र (सवारी चालक इजाजतपत्र) जाँच गर्ने, मादकपदार्थ तथा लागूऔषध सेवन (मापसे-लापसे) परीक्षण गर्ने, क्षमताभन्दा बढी यात्रु बोके-नबोकेको जाँच गर्ने र लामो दूरीको यात्रामा अनिवार्य दुई जना चालक राख्नुपर्ने नियमको पालना भए-नभएको अनुगमन गर्नेलगायतका जिम्मेवारी पनि ट्राफिक प्रहरीलाई तोकिएको छ । रासस
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal