• Menu

कालीगण्डकीको कटानले रातोपानी तातोपानी कुण्ड ध्वस्त, पर्यटकीय व्यवसाय प्रभावित

नेपाल प्रफिट

२०८३ असोज ३०, शुक्रबार १०:५८

कालीगण्डकीको कटानले रातोपानी तातोपानी कुण्ड ध्वस्त, पर्यटकीय व्यवसाय प्रभावित

म्याग्दी । प्राकृतिक उपचार र पर्यटकीय स्थलको विकास हुन थालेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ रातोपानीमा रहेका तातोपानी कुण्ड बगरमा परिणत भएको छ ।

यही असोज ८ देखि ११ गतेसम्मको झरिपछि कालीगण्डकी नदीमा आएको बाढी र कटानले कुण्डका संरचना बगाएपछि पर्यटक र बिरामीको आकर्षण बनेको तातोपानी कुण्डको अस्तित्व मेटिएको हो । कुण्डको संरक्षण र पर्यटकीय पूर्वाधार निर्माणमा गरिएको करिब एक करोड लगानी बाढीले बगाएर क्षति पुर्‍याएको अन्नपूर्ण गाउँपालिका-६ का वडाध्यक्ष रामबहादुर खड्काले बताए ।

‘तातोपानीलाई पर्यटकीय स्थलका रूपमा विकास गर्ने उद्देश्यले गाउँपालिकाले विगत ९ वर्षदेखि एक करोडभन्दा बढी लगानी गरेर तयार पारेको पूर्वाधार ध्वस्त बनाएको छ,’ उनले भने, ‘कुण्ड रहेको स्थानबाट अहिले कालीगण्डकी नदी बगिरहेको छ भने तातोपानीको मुहानसमेत पुरानो कुण्डबाट करिब ३० मिटर तल सरेको छ ।’

कालीगण्डकीको कटानबाट जोगाउन किनारमा निर्माण गरिएको पक्की पर्खाल निर्माण, डुबुल्की मारेर स्नान गर्ने सुविधाका लागि व्यवस्थित पोखरी, टहरा, विश्रामस्थल र शौचालयलगायत पूर्वाधार कालीगण्डकीको बाढीले बगाएको छ ।

गाउँपालिकाले पछिल्ला केही वर्ष यता प्राकृतिक तातोपानीको मुहान संरक्षण र व्यवस्थापन गर्दै आन्तरिक आम्दानीसमेत गर्दै आएको थियो । चालु आर्थिक वर्ष २०८३/८४ का लागि कुण्ड सञ्चालन गर्न चार लाख पाँच हजारमा ठेक्का सम्झौता भएको थियो ।

स्थानीयवासी दयाराम जिसीका अनुसार गाउँपालिका, प्रदेश सरकार, स्थानीय र दाताको सहयोग जुटाएर तातोपानीको मुहान संरक्षण तथा व्यवस्थापन भएपछि सो मुहान उपचार, स्नान र मनोरञ्जन स्थलका रूपमा विकास भएको थियो ।

‘रातोपानीको प्राकृतिक तातोपानी कुण्ड स्नानका लागि आउने पाहुना र पर्यटकका कारण चलायमान हुन थालेको स्थानीय बजार र होटल व्यवसायलाई पनि असर गरेको छ,’ उनले भने, ‘बाढीका कारण भौतिक संरचनामा क्षतिसँगै रोजगारी र आयआर्जनको अवसर पनि गुमेको छ ।’

बेनी-जोमसोम सडकको छेउमा रहेको यहाँ प्रतिसेकेण्ड ११ लिटरका दरले ५६ डिग्रीको तातोपानी निस्कने मुहान छ । मुहानबाट निस्किएको पानीलाई पोखरीमा संकलन गरी एक पटकमा ४० देखि ५० जनाले स्नान गर्नसक्ने क्षमताको १०/१० मिटर लम्बाइ र चौडाइ भएको पोखरी बनाइएको थियो ।

तातोपानी कुण्ड व्यवस्थित भएसँगै मुस्ताङ भ्रमण गरेर फर्किएकाहरुले थकान मेटाउन कुण्डमा स्नान गर्ने गर्दथे । कुण्डमा पर्यटक आगमनसँगै रातोपानी, पोखरेबगर र ठूलोबगरको व्यवसाय प्रवर्धनमा टेवा पुगेको थियो ।

यहाँ चोटपटक लागेको, बज्रिएको, ग्यास्ट्रिक र चिसोका कारण उत्पन्न स्वास्थ्य समस्याबाट पीडित बिरामी तातोपानीमा डुबुल्की मारेर स्नान गर्न आउने गर्दथे । कुण्ड स्वास्थ्य पर्यटन र उपचारका लागि निकै चर्चित थियो ।

पुनःयही स्थानमा तातोपानी कुण्ड पुनर्निमाण गर्न कठिन हुनेगरी बाढीले बगाएका कारण तातोपानीको मुहानबाट पानी लगेर अन्यत्र स्थानमा स्नानस्थल निर्माण गर्ने विकल्पकाबारेमा छलफल थालिएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताए ।