• Menu

भोटेकोशी-त्रिशूली बाढीबाट क्षतिग्रस्त १८ झोलुंगे पुल मर्मतपछि सञ्चालनमा

नेपाल प्रफिट

२०८३ असोज ३०, शुक्रबार १०:५०

भोटेकोशी-त्रिशूली बाढीबाट क्षतिग्रस्त १८ झोलुंगे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं । भोटेकोशी-त्रिशूली नदीमा आएको बाढीका कारण क्षतिग्रस्त भएका १८ वटा झोलुंगे पुल मर्मत गरी सञ्चालनमा ल्याइएको छ ।

पूर्वाधार विकास मन्त्रालय, स्थानीय पूर्वाधार विकास विभागअन्तर्गतको सस्पेन्सन ब्रिज डिभिजन कार्यालयका अनुसार बाढीका कारण त्रिशूली करिडोरमा रहेका १८ वटा झोलुंगे पुलमा क्षति पुगेको थियो । ती सबै पुल मर्मत गरी सञ्चालनमा ल्याइएको कार्यालयका योजना प्रमुख सहसचिव शङ्कर बुढाथोकीले जानकारी दिए ।

उनका अनुसार क्षतिग्रस्त पुलमध्ये ११ वटा झोलुंगे पुलमा बाढीका कारण लट्ठा बटारिएको, डेक तथा बिम बगाएको र साइडको जाली बगाएको लगायतका क्षति पुगेको थियो भने बाँकी सातवटा पुलमा सामान्य क्षति पुगेको थियो ।

अत्यधिक क्षति भएका ११ वटा पुलहरूको बटारिएका लठ्ठा सोझ्याउने, ह्यान्ड रेल केबल फेर्ने तथा नयाँ स्टिल डेक र बिम जडान गर्ने, साइडको जाली राखी मर्मत गरिएको थियो भने बाँकी सातवटा पुलहरूको सामान्य मर्मत गरी सञ्चालनमा ल्याइएको उनको भनाइ छ । ती पुल मर्मतका लागि करिब साढे पाँच करोड रूपैयाँ खर्च भएको उहाँको भनाइ छ ।

सहसचिव बुढाथोकीका अनुसार बृहत मर्मत गरिएका पुलमा नुवाकोटको बेलकोटगढी-७ र तारकेश्वर-२ जोड्ने पिमलटार जागाराम झोलुंगे पुल, सोही जिल्लाको वेलकोटगढी-५ देखि धादिङको गल्छी-१ जोड्ने फोस्रेटार झोलुंगे पुल, बेलकोटगढी-८ र विदुर नगरपालिका-३ जोड्ने जिलिङस्थित झोलुंगे पुल, धादिङको सिद्धलेक-३ देखि बेनीघाट रोराङ-३ जोड्न् झोलुंगे पुल छन् ।

साथै, नुवाकोटको बेलकोटगढी-५ केउरेनी गहते र धादिङको गल्छी-१ जोड्ने झोलुंगे पुल, धादिङको सिद्दलेक-६ र गजुरी-१ जोड्ने् झोलुंगे पुल, धादिङकै गल्छी-१ र गल्छी-६ जोड्ने महेशदोभान मास्टार झोलुङ्गे पुल, गल्छीऔ१ र वडा नं ४ जोड्ने झोलुंगे पुल, गल्छी-२ र वडा नं ४ जोड्ने शीतलबजार क्युरेनीटार झोलुंगे पुल, नुवाकोटको बेवकोटगढी-५ र धादिङको गल्छी-२ जोड्न कोल्पु कल्लेरीघाट पुल र गोरखाको गण्डकी-७ र धादिङको बेनीघाट रोराङ-७ जोड्ने झोलुंगे पुलको पनि बृहत् मर्मत गरिएको थियो ।

साथै गोरखाको गण्डकी-८ र धादिङको बेनीघाट रोराङ-५ जोड्ने बादरे झोलुंगे पुल सामान्य मर्मत गरी सञ्चालनमा ल्याइएको छ । सामान्य मर्मत गरिएका अन्य पुलमा धादिङको सिद्धलेक-६ र गजुरी-२ जोड्ने बिहानी पम्प झोलुंगे पुल, जिल्लाकै सिद्धलेक-५ देखि बेनीघाट रोराङ-३ जोड्ने मलेखु झोलुंगे पुल, धादिङकै गल्छी२-४ जोड्ने बेल्खु भुतिया झोलुंगे पुल, गोरखाको सहिद लखन-४ देखि चितवनको इच्छाकामना-४ जोड्ने कुरिनटार (लेवाटार) झोलुंगे पुल छन् । साथै धादिङको गल्छी-२ र ४ जाड्ने महादेवस्थान झोलुंगे पुल र गोरखाको गण्डकी-६ र चितवनको इच्छाकामना-३ जोड्ने फिस्लिङ झोलुंगे पुल छन् । रासस