• Menu

भदौमा मात्रै २ खर्ब २१ अर्बभन्दा बढी विप्रेषण भित्रियो

नेपाल प्रफिट

२०८३ असोज २९, बिहीबार १५:४९

भदौमा मात्रै २ खर्ब २१ अर्बभन्दा बढी विप्रेषण भित्रियो

काठमाडौं । चालु आवको भदौ महिनामा दुई खर्ब २१ अर्ब ३१ करोड विप्रेषण भित्रिएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/०८४ को दुई महिनाको तथ्यांकमा आधारित ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदनमा अघिल्लो आवको भदौ महिनामा विप्रेषण आप्रवाह एक खर्ब ७४ अर्ब ६७ करोड रहेको उल्लेख छ ।

चालु आवको दुई महिना (साउन र भदौ) मा विप्रेषण आप्रवाह २३.९ प्रतिशतले वृद्धि भएको छ । दुई महिनामा ४ खर्ब ३६ अर्ब ३६ करोड विप्रेषण भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ३३.१ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.५ प्रतिशतले वृद्धि भई दुई अर्ब ८५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २७.६ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) चार खर्ब ६९ अर्ब ४४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय तीन खर्ब ८४ अर्ब ८८ करोड रहेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालको संख्या ७८ हजार ३२० र पुनः श्रम स्वीकृति लिनेको संख्या ५१ हजार १३६ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ९० हजार १९८ र ४५ हजार ८८४ थियो । रासस