काठमाडौं । गत भदौ १० गते रसुवा र नुवाकोटमा आएको बाढीका कारण सम्पर्कविहीन भएका नेपाल विद्युत प्राधिकरणका कर्मचारीका परिवारलाई राहत रकम वितरण गर्न सुरु गरिएको छ। प्राधिकरणका अनुसार सम्पर्कविहीन ४७ कर्मचारीमध्ये ६ जनाका परिवारले तत्कालको राहत रकम प्राप्त गरिसकेका छन्।
प्राधिकरण सञ्चालक समितिले सम्पर्कविहीन कर्मचारीका आश्रित परिवारलाई जनही पाँच लाख रुपैयाँ र ६ महिनासम्म कार्यरत पदको सुरु तलबको आधा रकम उपलब्ध गराउने निर्णय गरेको थियो।
उक्त निर्णयअनुसार आवश्यक आधार र प्रमाणसहित निवेदन दिएका ६ जना कर्मचारीका हकवालाले राहत रकम प्राप्त गरिसकेको प्राधिकरणले जनाएको छ। राहत पाउन बाँकी अन्य हकवालालाई आवश्यक कागजातसहित निवेदन दिनसमेत प्राधिकरणले आग्रह गरेको छ।
प्राधिकरणका अनुसार राहत रकम प्राप्त गर्न सम्पर्कविहीन कर्मचारीसँगको नाता प्रमाणित हुने कागजात, निवेदकको नागरिकता प्रमाणपत्र र नाबालकका हकमा जन्मदर्ता प्रमाणपत्र पेस गर्नुपर्नेछ।
त्यसैगरी, आफू नजिकको हकवाला भएको खुल्ने स्थानीय तहको सिफारिसपत्र, बैंक खाता नम्बर र राहत उपलब्ध गराइदिन अनुरोध गरिएको निवेदनसमेत बुझाउनुपर्नेछ।
प्राधिकरणले आफ्नो विनियमावली तथा सरकारले घोषणा गर्ने राहत प्याकेजअनुसार आगामी दिनमा थप सहयोग उपलब्ध गराइने जनाएको छ।