• Menu

होटल संघ नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने

नेपाल प्रफिट

२०८३ असोज २१, बुधबार १२:४१

होटल संघ नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने

काठमाडौं । होटल संघ नेपालले आगामी जनवरी १६ र १७ (२०८३ माघ २ र ३) मा दुई दिने ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने भएको छ ।

संघले वार्षिक रूपमा मनाउँदै आएको आतिथ्य दिवसको अवसर पारेर आयोजना गर्न लागिएको एक्स्पोमा नेपालको होटल तथा आतिथ्य उद्योगको अवस्था, योगदान, सम्भावना र चुनौतीबारे राष्ट्रियस्तरमा बहस तथा छलफल गरिने जनाएको छ ।

एक्स्पोमा होटल तथा आतिथ्य क्षेत्रमा आवश्यक वस्तु तथा सेवाका उत्पादक र आपूर्तिकर्ताका विभिन्न प्रदर्शनी कक्ष रहनेछन् । होटल उद्योगले नेपालको अर्थतन्त्र, पर्यटन प्रवर्धन, रोजगारी सिर्जना तथा राजस्वमा पुर्‍याउँदै आएको योगदानलाई समेत कार्यक्रममा उजागर गरिने संघले जनाएको छ ।

त्यसैगरी, होटल तथा पर्यटन उद्योगले भोगिरहेका वर्तमान चुनौती, आगामी सम्भावना तथा उद्योग विकासका लागि आवश्यक नीतिगत विषयमा सरोकारवालाबीच छलफल गरिनेछ ।

एक्स्पोको अवसरमा २०२२ सालमा स्थापना भएको होटल संघ नेपालको हिरक जयन्ती समारोहको औपचारिक समापनसमेत गरिनेछ । कार्यक्रममा नेपालको होटल तथा आतिथ्य क्षेत्रको विकासमा संघ तथा सदस्य होटलहरूले पुर्‍याएको योगदान प्रस्तुत गरिने संघले जनाएको छ ।

संघले होटल तथा पर्यटन उद्योगको वर्तमान अवस्था, सम्भावना र चुनौती समेटिएको वार्षिक विशेष पुस्तक ‘होटल एयर बुक २०२७’ समेत प्रकाशन गर्ने तयारी गरेको छ । पुस्तकमा होटल तथा आतिथ्य उद्योगले राष्ट्रिय अर्थतन्त्र र पर्यटन विकासमा पुर्‍याएको योगदान तथा उद्योग विकासका लागि आवश्यक विषय दस्तावेजीकरण गरिनेछ ।

नेपाल सरकारले सन् २०२७ लाई आरोग्य पर्यटन वर्षका रूपमा मनाउने तयारी गरिरहेको सन्दर्भमा एक्स्पोमा होटल उद्योगले आरोग्य पर्यटनमा पुर्‍याउन सक्ने योगदानबारे विशेष प्रस्तुति पनि गरिनेछ ।

एक्स्पोकै अवसरमा १०८ प्रकारका जैविक तथा आरोग्यमूलक परम्परागत नेपाली परिकार समेटिएको ‘नेपाल हेरिटेज वेलनेस कुकबुक २०२७’ प्रकाशन गरिने संघले जनाएको छ । नेपाली मौलिक खाद्य परम्परा र पौष्टिक तथा आरोग्यमूलक परिकारलाई आधुनिक आतिथ्य सेवासँग जोडेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रवर्धन गर्ने उद्देश्यले पुस्तक तयार गर्न लागिएको हो ।

यसैगरी, गुन्द्रुकलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रवर्धन तथा ब्रान्डिङ गर्ने कार्यक्रमसमेत अघि बढाइनेछ । होटल तथा रेष्टुरेन्टका परिकारमा गुन्द्रुकको प्रयोग विस्तार गर्दै यसको मौलिकता, पोषण र आरोग्यमूल्यलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउने संघको लक्ष्य छ ।

एक्स्पोका अवसरमा स्वदेशी तथा विदेशी पाहुनालाई नेपाली रैथाने तथा मौलिक खानाका परिकारमार्फत स्वागत गरिनेछ । नेपाली मौलिक खानालाई पर्यटन अनुभवको महत्वपूर्ण हिस्सा बनाउँदै अन्तर्राष्ट्रिय पर्यटकमाझ नेपाली खानाको पहिचान स्थापित गर्ने संघले जनाएको छ ।

होटल एक्स्पो २०२७ मार्फत होटल तथा आतिथ्य उद्योगसँग सम्बन्धित व्यवसाय, उत्पादन तथा सेवाको प्रदर्शनीसँगै सरकार र निजी क्षेत्रबीच सहकार्य, लगानी प्रवद्र्धन, प्रविधि हस्तान्तरण, बजार विस्तार तथा अन्तर्राष्ट्रिय प्रवर्धनका लागि नयाँ अवसर सिर्जना हुने संघको विश्वास छ ।

एक्स्पोको व्यवस्थापन तथा समन्वयको जिम्मेवारी इभेन्ट सोलुसन प्रालिले गर्ने होटल संघ नेपालले जनाएको छ ।