• Menu

वनमन्त्री चौधरी र विश्व वन्यजन्तु कोषका प्रतिनिधिबीच छलफल

नेपाल प्रफिट

२०८३ असोज २०, मंगलबार १४:१६

वनमन्त्री चौधरी र विश्व वन्यजन्तु कोषका प्रतिनिधिबीच छलफल

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीसँग विश्व वन्यजन्तु कोष अमेरिकाका प्रतिनिधि र नेपालका प्रतिनिधिबीच आज मन्त्रालयमा छलफल गरिएको छ ।

मन्त्रालयमा मंगलबार भएको भेटघाट तथा छलफलमा नेपालको पछिल्लो बाढी तथा विपद्, पुनर्निर्माण, जैविक विविधता संरक्षण, जलवायु उत्थानशीलता, वन तथा वन्यजन्तु व्यवस्थापन र आगामी सहकार्यका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

उक्त अवसरमा विश्व वन्यजन्तु कोष अमेरिकाका प्रमुख कार्यकारी अधिकृत लोराले विपद्को समयमा नेपाली जनता तथा सरकारसँग कोषको निरन्तर सहकार्य रहने विश्वास व्यक्त गरिन् ।

अन्तरराष्ट्रिय प्रविधि, ज्ञान र स्रोत परिचालनमा कोषले सहयोग गर्ने प्रतिबद्धता समेत लोराले छलफलमा व्यक्त गरेकी थिइन् ।

मन्त्री चौधरीले विपद्को समयमा कोषले गरेको सहयोगका लागि धन्यवाद व्यक्त गर्दै बाढीबाट कृषि भूमि तथा वन क्षेत्रमा भएको क्षति र पुनर्निर्माणका चुनौतीबारे जानकारी दिएकी थिइन् ।

उनले पुनर्निर्माणसँगै दीर्घकालीन जलवायु तथा विपद् उत्थानशीलता विकासलाई प्राथमिकता दिनुपर्ने बताइन् ।

छलफलमा मानव-वन्यजन्तु द्वन्द्व बढ्दै गएको विषयमा विशेष ध्यान दिइएको थियो ।

बाघको संख्या वृद्धि भएसँगै मानव-बाघ द्वन्द्व तथा जंगली हात्तीको समस्या र ५५ जिल्लामा देखिएको बाँदरको समस्या समाधानका लागि आधुनिक प्रविधि र वैज्ञानिक व्यवस्थापन आवश्यक रहेको मन्त्री चौधरीले अवगत गराएकी थिइन् ।

बाँदर व्यवस्थापनका लागि बध्याकरण प्रविधि, हात्ती व्यवस्थापनका लागि विशेष परियोजना तथा मानवभक्षी बाघ व्यवस्थापनका लागि विशेष संरक्षण क्षेत्र स्थापना गर्ने सम्भावनाबारे छलफल भएको थियो ।

कोषले पाकिस्तानले सन् २०२२ को बाढीपछि पाकिस्तानमा सञ्चालन गरिएका सिमसार पुनर्स्थापना, प्रकृतिमा आधारित उत्थानशीलता र समुदायको संरक्षणसम्बन्धी अनुभव प्रस्तुत गर्दै नेपालमा पनि स्थानीय आवश्यकताअनुरूप कार्यक्रम विकास गर्न सकिने बताइन् ।

मानव-हात्ती द्वन्द्व व्यवस्थापनका लागि जिइएफ-९ लगायतका अन्तरराष्ट्रिय वातावरणीय तथा जलवायु वित्त परिचालन गर्न सकिने सम्भावनाबारे छलफल भयो ।

कोषले नेपालका प्राथमिकताअनुसार विश्वस्तरीय प्रविधि, ज्ञान र स्रोत परिचालनमा सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

भेटमा प्रकृति संरक्षण, समुदायको उत्थानशीलता र दिगो आर्थिक विकासलाई एकीकृत गर्दै आगामी सहकार्यलाई थप परिणाममुखी बनाउने विषयमा दुवै पक्षबीच सहमति भएको छ ।