रौतहट । प्रहरीले रौतहटको गुजरा नगरपालिका-५ लक्ष्मीपुरस्थित एक इटाँभट्टामा काम गर्न आएका ४२ जना भारतीय नागरिकको उद्धार गरी स्वदेश फर्काएको छ ।
भारतीय ठेकेदारमार्फत लक्ष्मीपुरस्थित मदिना इँटाभट्टामा काम गर्न आएका १२ पुरुष, ११ महिला, १० बालक र नौ बालिका गरी ४२ जनालाई अलपत्र परेको अवस्थामा उद्धार गरी आज भारतीय सीमा सुरक्षा बलको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक बसन्त गौतमले जानकारी दिए ।
इटाँभट्टा सञ्चालक मोहम्मद मुजामिलले रासनखर्च व्यवस्थापनका लागि भनी चारदिनअघि आफूसँग भारु ६ लाख लिई गएका भारतीय ठेकेदर मोहम्मद नासिर सम्पर्कविहीन भएपछि कामदार अलपत्र परेको जानकारी दिए । आगामी असारसम्म इटाँभट्टामा काम गर्नेगरी उत्तर प्रदेश मुररावादबाट ल्याइएका आश्रित परिवारसहिका कामदार ठेकेदार एक्कासी सम्पर्कविहीन भएपछि प्रहरीलाई जानकारी गराएको उनले बताए ।
प्रहरी नायब उपरीक्षक गौतमले बाहिरबाट कामदार ल्याई अलपत्र पार्ने भारतीय ठेकेदारको खोजी भइरहेको र सो सम्बन्धमा थप अनुसन्धान भइरहेको बताए ।