• Menu

४४ करोडभन्दा बढी लागतमा बन्दैछ विजौरी-कोठेरी सडक, दसैँअघि बेस र सबबेसको काम सक्ने तयारी

नेपाल प्रफिट

२०८३ असोज १९, सोमबार ११:१५

४४ करोडभन्दा बढी लागतमा बन्दैछ विजौरी-कोठेरी सडक, दसैँअघि बेस र सबबेसको काम सक्ने तयारी

दाङ । दाङको विजौरीदेखि कोठरीसम्मको सडक स्तरोन्नतिको काम धमाधम भइरहेको छ । हाल सडकको ड्रेन निर्माण तथा सबवेस राख्ने काम अन्तिम चरणमा पुगेको छ ।

४४ करोड ८७ लाख लागतमा १५.५८ किलोमिटर सडक कालोपत्र हुनलागेको हो । लुम्बिनी प्रदेश सरकारअन्तर्गत सञ्चालित ग्रामीण सम्पर्क सुधार परियोजनाअन्तर्गत उक्त सडक बिजौरी-बसदबारा-जमुनी-लक्ष्मीपुर-दक्षिण कुररिया-कञ्जवार हुँदै कोठरीसम्म निर्माण हुनेछ ।

अब छिट्टै कालोपत्रको काम सुरु हुने निर्माण कम्पनी एमसी-एएनएस बिजी जेभी, काठमाडौंका प्रतिनिधि सिलन बरालले बताए । उनका अनुसार निर्माणकार्यलाई छिटो सम्पन्न गर्न तुलसीपुर उपमहानगरपालिकामा सूचीकृत व्यवसायी तथा निर्माण सामग्री आपूर्तिकर्ता र रेन्टल सेवा प्रदायकसँग सहकार्य गरिएको उनको भनाइ छ ।

उनका अनुसार स्थानीय निर्माण व्यवसायीसँगको समन्वयमा आवश्यक निर्माण उपकरण, सामग्री र जनशक्ति परिचालन गरिएकाले काम सहज भएको हो । अस्फाल्ट प्रविधिबाट उक्त सडक कालोपत्र हुनेछ । त्यसका लागि आवश्यक अस्फाल्ट प्लान्टलगायतका उपकरण जडान भइसकेका छन् ।

दसैँअघि बेस तथा सवबेसको काम सम्पन्न लक्ष्य राखिएको उनले बताए । सडक निर्माणमा गुणस्तरलाई समेत ध्यानमा राखिएको प्रतिनिधि बरालले बताए । आगामी चैतभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको कम्पनीले जनाएको छ ।