• Menu

भारतीय प्रधानमन्त्री मोदीद्वारा फ्लाईदुबईका क्याप्टेन स्मित मच्छरको साहस र वीरताको प्रशंसा

नेपाल प्रफिट

२०८३ असोज १५, बिहीबार १३:३१

भारतीय प्रधानमन्त्री मोदीद्वारा फ्लाईदुबईका क्याप्टेन स्मित मच्छरको साहस र वीरताको प्रशंसा

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुबई-तेल अभिभ उडानमा सह-पाइलटसँग विमानको नियन्त्रणका लागि संघर्ष गर्दा घाइते भएका भारतीय क्याप्टेन स्मित मच्छरको साहसको प्रशंसा गरेका छन् । उनले क्याप्टेन मच्छरलाई ‘नायक’ भन्दै गम्भीर खतराबीच पनि अरूको ज्यान जोगाउन उनले देखाएको साहस र दृढताको प्रशंसा गरेका हुन् ।

फ्लाईदुबईको उक्त उडानमा रहेका सबै १७४ यात्रु सुरक्षित रहेको एयरलाइन्सले जनाएको छ । सञ्चारमाध्यमका अनुसार तीमध्ये १६६ जना इजरायली नागरिक थिए । विमानमा सह-पाइलटसँगको संघर्षका क्रममा क्याप्टेन मच्छर घाइते भएका थिए ।

मोदीले सामाजिक सञ्जालमा जारी गर्नुभएको सन्देशमा गम्भीर रूपमा घाइते भए पनि क्याप्टेन मच्छरले असाधारण साहस र अटुट संकल्पका साथ अरूको जीवन रक्षा गरेको बताएका छन् । उनको वीरताले ठूलो दुर्घटना रोक्न र सयौँको ज्यान जोगाउन सहयोग पुगेको उल्लेख गर्दै मोदीले क्याप्टेन मच्छरको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

यसअघि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले पनि क्याप्टेन मच्छरको असाधारण बहादुरीको प्रशंसा गरेका थिए । घाइते अवस्थामा पनि उनले विमानमा हुन सक्ने ठूलो दुर्घटना रोक्न संघर्ष गरेको नेतान्याहुले बताएका थिए ।

भारतीय सञ्चारमाध्यमका अनुसार ३० वर्षीय क्याप्टेन मच्छर मुम्बईका हुन् । उनका अभिभावक उपचाररत उनलाई भेट्न साउदी अरेबिया पुगेको बताइएको छ । मच्छरसँग बोइङ-७३७ विमानमा १३ वर्षभन्दा बढीको व्यावसायिक उडान अनुभव रहेको र सन् २०२२ देखि फ्लाईदुबईका लागि उडान गर्दै आएको उनको लिङ्क्डइन विवरणमा उल्लेख छ । उनले यसअघि भारतीय एयरलाइन्स स्पाइसजेटमा पनि काम गरेका थिए ।

क्याप्टेन मच्छरले सन् २०२५ मा एक पोडकास्टमा आफ्नो पाइलट बन्ने यात्राबारे बताएका थिए । परिवारको कपडा व्यवसायमा सहयोग गर्न व्यवस्थापन अध्ययन गरिरहेका बेला एउटा सेमिनारमा सहभागी भएपछि आफू उड्डयन क्षेत्रमा आकर्षित भएको उनले बताएका थिए । पहिलो व्यावसायिक उडानलाई जिम्मेवारीका कारण चुनौतीपूर्ण अनुभवका रूपमा स्मरण गर्दै उनले उडान क्षेत्रमा काम गर्दा दबाब सामना गर्न सिकेको बताएका थिए । ‘तनावले कम्तीमा यस उद्योगमा मद्दत गर्ने छैन,’ उनले भनेका थिए ।

सम्बन्धित समाचार