• Menu

चिया बेचेरै कपिलवस्तुमा परिवारको गुजारा चलाउँदै दैलेखका बलराम देवकोटा

नेपाल प्रफिट

२०८३ असोज १५, बिहीबार १४:०६

चिया बेचेरै कपिलवस्तुमा परिवारको गुजारा चलाउँदै दैलेखका बलराम देवकोटा

कपिलबस्तु । दैलेखबाट कपिलवस्तु झरेका बलराम देवकोटा र उनकी श्रीमती बिहानैदेखि तौलिहवा बजारमा चिया बेच्न व्यस्त छन् । ती देवकोटा दम्पतीले दैनिक करिब ४५० कपभन्दा बढी चिया बिक्री गरी परिवारको गुजारा चलाउँदै आएका छन् ।

दैलेखको दुल्लु नगरपालिका-८ बडालम्जीका स्थायी बासिन्दा देवकोटा रोजगारीका सिलसिलामा २०७७ सालमा कपिलवस्तु आएका हुन् । उनले ६ वर्षदेखि कपिलवस्तुको सदरमुकाम तौलिहवा बजार क्षेत्रमा चिया बिक्री गर्दै आएका छन् ।

देवकोटाले प्रतिकप १० मा चिया बिक्री गर्छन् । गर्मी होस् वा जाडो, दैनिक करिब ४५० कप चिया बिक्री गर्दै आएको उनले जानकारी दिए । उनको अहिले दैनिक करिब चार हजार पाँचको कारोबार हुने गरेको छ ।

उनका दैनिक रुपमा बिहान ६:०० बजेदेखि ९:०० बजेसम्म बजार क्षेत्रमा चिया बेच्छन् । दिउँसो २:०० बजेदेखि राति ८:०० बजेसम्म पुनः चिया बेच्ने उनको दैनिकी छ ।

देवकोटाको परिवारमा एक छोरा र एक छोरी छन् । चिया बेचेर हुने आम्दानीले परिवारको दैनिकी सहज रुपमा नै चलाउँदै आएको उनले बताए । विदेश गएर रोजगारी गर्नुभन्दा स्वदेशकै व्यवसायबाट आफू सन्तुष्ट रहेको देवकोटाको भनाइ छ ।

‘जे गर्छु नेपालमै गर्छु । मेहनत गर्नेलाई नेपाल नै विदेश हो,’ उनले भने । सामान्य लगानी र निरन्तर मेहनतबाट पनि स्वदेशमै गतिले आम्दानी गर्न सकिन्छ भन्ने त्यस क्षेत्रमा उहाँ उदाहरणीय पात्र हुनुहुन्छ । चिया बिक्रीलाई नै निरन्तरता दिँदै परिवारको भविष्य निर्माण गर्ने उनको योजना छ ।