काठमाडौं । रमाडा बाइ विन्डह्याम इटहरीले पूर्वी नेपालको संस्कृति, स्वाद, कला, प्रतिभा तथा स्थानीय उत्पादनलाई समेटेर पाँचदिने ‘दशैं होम कमिङ कार्निभल’ आयोजना गर्ने भएको छ ।
दृश्य ‘द सी अनसिन’को सहकार्यमा आयोजना हुने कार्निभल आगामी असोज २० देखि २४ गतेसम्म इटहरीस्थित आरिया लनमा सञ्चालन हुनेछ। कार्निभलको मुख्य आकर्षणका रूपमा असोज २४ गते साइग्रेससँग विशेष भेटघाट तथा प्रस्तुति आयोजना गरिने होटलले जनाएको छ।
दशैंमा घर फर्किने खुसी र पारिवारिक पुनर्मिलनलाई केन्द्रमा राखेर आयोजना गर्न लागिएको कार्निभलमा परिवार तथा आफन्तसँगै चाडपर्व मनाउने वातावरण तयार गरिनेछ। प्रत्येक दिन साँझ ५ बजेदेखि राति ९ बजेसम्म सञ्चालन हुने कार्यक्रममा स्थानीय कलाकारको सांगीतिक प्रस्तुति, स्थानीय परिकारका विभिन्न खानाका परिकार, मनोरञ्जनात्मक गतिविधि, अनुहारमा चित्र बनाउने कार्यक्रम तथा पेय पदार्थको व्यवस्था गरिनेछ ।
कार्निभलको पहिलो दिन असोज २० गते प्याराडाइज नेपालको प्रस्तुति रहनेछ। असोज २१ गते हाम्रो आवाज, २२ गते रोयस तामाङ र २३ गते प्रविन राईले सांगीतिक प्रस्तुति दिनेछन्। यी चार दिनको प्रवेश शुल्क प्रतिव्यक्ति एक हजार ६ सय रुपैयाँ निर्धारण गरिएको छ। कलाकारको प्रस्तुति साँझ ६ बजेदेखि र खानाका परिकारका केन्द्र साँझ ७ बजेदेखि सञ्चालन हुनेछन् ।
कार्निभलको समापन असोज २४ गते शनिबार हुनेछ। समापनका दिन साइग्रेससँग विशेष भेटघाट तथा प्रस्तुति हुनुका साथै नीलो धागो, बाँसुरी र आस्था बराइलीको सांगीतिक प्रस्तुति रहनेछ। उक्त दिनको प्रवेश शुल्क एक हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ भने खानाका परिकारका केन्द्र राति ८ः३० बजेदेखि सञ्चालन हुनेछन् ।
होटलका अनुसार कार्निभलमार्फत पूर्वी नेपालको संगीत, स्वाद, कला, प्रतिभा र स्थानीय पहिचानलाई एउटै स्थानमा प्रस्तुत गर्ने उद्देश्य राखिएको छ। दशैंका अवसरमा घर फर्किएका नेपालीलाई परिवार तथा आफन्तसँगै उत्सव मनाउने अवसर प्रदान गर्नुका साथै स्थानीय समुदाय र संस्कृतिको प्रवद्र्धन गर्ने लक्ष्य रहेको होटलले जनाएको छ ।
कार्निभलमा सहभागी हुन तथा थप जानकारीका लागि ९७७-९७०-७०९३६०० मा सम्पर्क गर्न सकिने होटलले जनाएको छ।