एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लाईदुबईको उडानमा सह-पाइलटको आक्रमणपछि विमानलाई सम्भावित दुर्घटनाबाट जोगाउन साहस देखाएका भारतीय क्याप्टेन स्मित मच्छरको प्रशंसा गरेका छन् । उनले घटनाबारे इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग कुराकानी गरेको बताउँदै आक्रमणकारी सम्भावित आतंकवादी वा असामान्य व्यक्ति हुन सक्ने टिप्पणी गरेका छन् ।
फ्लाईदुबईको एफजेड१०७३ उडानमा सह-पाइलटले ककपिटभित्र क्याप्टेन मच्छरमाथि छुरा प्रहार गरेपछि विमान हजारौँ फिट तल झरेको थियो । त्यसपछि यात्रु तथा चालक दलका सदस्यले हस्तक्षेप गरी आक्रमणकारीलाई नियन्त्रणमा लिएपछि विमानलाई साउदी अरेबियामा सुरक्षित अवतरण गराइएको थियो ।
ट्रम्पले गम्भीर घाइते भए पनि क्याप्टेन मच्छरले ककपिटको ढोका खोल्न सफल भएको र यात्रुहरूले आक्रमणकारीलाई नियन्त्रणमा लिन महत्त्वपूर्ण भूमिका खेलेको बताए । एक इजरायली यात्रुले उडानको कुनै अनुभव नभए पनि ककपिटमा पुगेर आक्रमणकारीलाई पाइलटको सिटबाट हटाउन सहयोग गरेका थिए ।
इजरायली प्रधानमन्त्री नेतान्याहुले यात्रु यानिव हयुनलाई ‘साँचो नायक’ भन्दै उनको साहसको प्रशंसा गरेका छन् । घटनामा विमानमा रहेका १७४ जनाको ज्यान जोगाउन क्याप्टेन, यात्रु तथा चालक दलका सदस्यको संयुक्त प्रयास महत्त्वपूर्ण भएको इजरायलको विदेश मन्त्रालयले जनाएको छ ।
इजरायलस्थित भारतीय दूतावास तथा भारतका लागि इजरायली राजदूत रुभेन अजारले क्याप्टेन मच्छरको साहस, संयम र कर्तव्यप्रतिको समर्पणको प्रशंसा गर्दै शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । संयुक्त राज्य अमेरिकाका लागि भारतका राजदूत विनय मोहन क्वात्राले पनि उनीलगायत अन्य यात्रुको प्रयासले सम्भावित ठूलो दुर्घटना टार्न सहयोग पुगेको बताएका छन् ।
क्याप्टेन मच्छरसँग १३ वर्षभन्दा बढीको व्यावसायिक उड्डयन अनुभव र बोइङ-७३७ विमानमा करिब नौ हजार ७५० घण्टाको उडान अनुभव रहेको बताइएको छ । उनले फ्लाईदुबईमा आबद्ध हुनुअघि भारतीय एयरलाइन्समा ११ वर्ष काम गरेका थिए ।
घटनाको अनुसन्धान भइरहेकाले फ्लाईदुबईले इजरायल जाने तथा इजरायलबाट हुने उडान अस्थायी रूपमा स्थगित गर्ने जनाएको छ ।