• Menu

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ओइरियो सहयोग, संघ-संस्थादेखि पालिकासम्मको ठूलो योगदान

नेपाल प्रफिट

२०८३ भदौ १८, बिहीबार १४:०८

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ओइरियो सहयोग, संघ-संस्थादेखि पालिकासम्मको ठूलो योगदान

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम दाखिला गर्नक्रम बढ्दै गएको छ । भोटेकोशी बाढीपीडितलाई राहत, उद्धार र पुनर्स्थापनाका लागि रकम दाखिला गरिएको हो । काठमाडौंस्थित ठमेलमा सञ्चालन भएको रमादा होटलले ११ लाख ११ हजार १११ सहयोग गरेको छ ।

उक्त होटेलले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरेको होटेलका अध्यक्ष जगन्नाथ ज्ञवालीले जानकारी दिए ।

वालिङ (स्याङ्जा) स्याङ्जाको पुतलीबजार नगरपालिकाले २७ लाख ३९ हजार ८५८ सहयोग उपलब्ध गराएको छ ।

नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीको मासिक तलबबाट रकम संकलन गरिएको नगर प्रवक्ता मनोज पौडेलले जानकारी दिए ।

वीरगन्ज : मारवाडी ट्रष्ट र चाचन समूह, वीरगन्जले ५२ लाख ११ हजार रुपैयाँ संकलन गरी राहत कोषमा जम्मा गरिएको चाचान समूहका अध्यक्ष बाबुलाल चाचानले जानकारी दिए ।

बुटवल : गौतमबुद्ध सामुदायिक अस्पतालले रु ११ लाख ११ हजार १११ सहयोग उपलब्ध गराएको छ । बुटवलको उक्त अस्पतालले चिकित्सक तथा अन्य कर्मचारीका तर्फबाट रकम दाखिला गरिएको अस्पतालका अध्यक्ष एजाज आलमले जानकारी दिए ।

बाजुरा : बूढीगंगा नगरपालिकाले २२ लाख ९२ हजार ३३२ रुपैयाँ सहयोग गरेको छ । उक्त रकम नगरपालिकाका जनप्रतिनिध, कर्मचारी, शिक्षकको मासिक तलवबाट संकलन गरिएको नगर प्रमुख रामबहादुर बानियाँले जानकारी दिए ।

मकवानपुर : भीमफेदी नगरपालिकाले पाँच लाख रुपैयाँ राहत कोषमा जम्मा गरेको छ । उक्त रकम पालिकाका जनप्रतिनिधि तथा कर्मचारीको मासिक तलवबाट संकलन गरिएको गाउँपालिकाका अध्यक्ष हिदम लामाले जानकारी दिए ।

बनेपा : नेपाली कांग्रेस बनेपा नगरद्वारा दुई लाख २३ हजार ३६४ रुपैयाँ राहत कोषमा जम्मा गरिएको छ । उक्त रकम पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकबाट संकलन गरिएको नेपाली कांग्रेस बनेपा नगर समितिका सभापति महेशकुमार कर्माचार्यले बताए ।

लमजुङ : बेँसीसहर नगरपालिका, लमजुङले पाँच लाख रुपैयाँ राहत कोषमा दाखिला गरेको छ । उक्त रकम नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीको मासिक तलवबाट संकलन गरिएको नगरपालिकाका नगरप्रमख गुमानसिंह अर्यालले जानकारी दिए ।

काभ्रेपलाञ्चोक : जिल्लाका नौ पालिकाले भोटेकोशी बाढीपीडितको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि एक करोड ७७ लाख रुपैयाँ राहत कोषमा जम्मा गरेका छन् ।

भुम्लु गाउँपालिकाले ३० लाख, नमोबुद्ध नगरपालिकाले २७ लाख ५० हजार, बनेपा नगरले १५ लाख, पनौती नगरले रु ३० लाख, पाँचखाल, धुलिखेल, रोशी र चौँरीदेउराली पालिकाले १०-१० लाख गरी जम्मा एक करोड ७७ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला गरिएको हो ।

त्यसैगरी, काभ्रेजिल्ला धुलिखेल नगरपालिका-११, निवासी रवि धितालले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमार्फत प्रधानमन्त्री राहत कोषमा व्यक्तिगत एक करोड ११ लाख ११ हजार १११ रुपैयाँ दाखिला गरेको स्थानीय समाचारदाता राजकुमार पराजुलीले जानकारी दिएका छन् ।

सिरहा : लहान नगरपालिकाले ११ लाख राहत सहयोग रकमा दाखिला गरेको छ ।

उक्त रकम पालिकाका जनप्रतिनिध, कर्मचारी, शिक्षक तथा स्वास्थ्यकर्मीको मासिक तलवबाट संकलन गरिएको नगरप्रमुख महेशप्रसाद चौधरीले जानकारी दिए ।