
म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा दाताको सहयोग जुटाएर आँखा उपचार केन्द्रको भवन निर्माण थालिएको छ ।
नेपाल नेत्रज्योति संघ म्याग्दीले बेनी नगरपालिका-८ कालीपुलमा आँखा उपचार केन्द्रको भवन निर्माण सुरुआत गरेको हो । एक करोड तीन लाखको लागतमा तीन तले भवन निर्माण गर्न लागिएको संघका अध्यक्ष अमर बानियाँले जानकारी दिए । ‘संस्थाका पदाधिकारी र सदस्यहरुबाट जुटाएको १० लाख बजेटबाट जग खन्ने र कुनातर्फ पर्खाल बनाउन थालेका छौ,’ उनले भने ‘थप पूर्वाधार बनाउन दाताहरुलाई सहयोगको अपिल गरेका छौ ।’
मालिका-६ दिच्यामका मुक्ति रोका र उनकी पत्नी याममायाले दुई करोड ५० लाख मूल्य बराबरको सात आना, एक पैसा, तीन दाम क्षेत्रफल भएको जग्गा उपलब्ध गराएका छन् । रोका सामाजिक व्यक्तित्व छन् ।
दुई तलामा कार्यालय र सहयोगी कक्ष रहने भवनको पहिलो तलामा उपचार तथा औषधि भण्डारण र दोस्रोमा शल्यक्रिया कक्षा बनाइने सभापति बानियाँले जानकारी दिए । संघले हाल बेनीमा भाडाको घरमा सञ्चालन गरेको आँखा उपचार कक्षको भवनबाट म्याग्दीका साथै पर्वत, मुस्ताङ र बागलुङका बासिन्दाले सेवा लिने गरेका छन् ।
भवन सम्पन्न भएपछि आँखाको शल्यक्रिया सम्बन्धी सेवा बेनीमै उपलब्ध गराउने र पोखरा जानुपर्ने समस्या हटाउने उद्देश्य राखिएको सभापति बानियाँले बताए ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal