• Menu

बझाङदेखि डोटीसम्म बन्ने भयो ४०० केभीको प्रसारण लाइन, २,५०० मेगावाट बिजुली प्रवाह हुने

नेपाल प्रफिट

२०८३ साउन २१, ११:२६

बझाङदेखि डोटीसम्म बन्ने भयो ४०० केभीको प्रसारण लाइन, २,५०० मेगावाट बिजुली प्रवाह हुने

काठमाडौं । कुल दुई हजार ५०० मेगावाट बराबरको बिजुली प्रवाहका लागि बझाङ-बनलेक (पश्चिम सेती) प्रसारण लाइन निर्माण हुने भएको छ । कुल ४०० केभी क्षमताको सो आयोजना निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको छ ।

कुल ६० किलोमिटर लामो प्रसारण लाइन बझाङ जिल्लाको जयपृथ्वी नगरपालिका वडा नं १ मा प्रस्तावित चैनपुर सबस्टेसनदेखि डोटी जिल्लाको शिखर नगरपालिका-१० मा प्रस्तावित बनलेक (पश्चिम सेती) मा  जोडिनेछ ।

प्रसारण लाइन निर्माणका लागि राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडले विद्युत विकास विभागमा आवेदन दिएको छ । विद्युत ऐन, २०४९ को दफा ९४० को  व्यवस्थाअनुसार  विवरण खुलाई अनुमतिका लागि आवेदन दिनुपर्ने व्यवस्था छ ।

सो आयोजनाअन्तर्गत ४००/१३२  केभी, १६० एमभिए क्षमताको चैनपुर सबस्टेसन निर्माण हुनेछ । यस्तै, ४००/१३२  केभी र ३१५ एमभीए क्षमताको बनलेक (पश्चिम सेती)  सबस्टेसन समेत निर्माण हुनेछ ।

प्रसारण लाइनको लम्बाइ ६० किलोमिटर हुनेछ । त्यसमा १४३ वटा डबल सर्किट टावर निर्माण गरिनेछ । टावरको अधिकतम उचाइ ६१ मिटर र टावरबीचको औसत दूरी ४०८.९९ मिटर रहनेछ भने न्यूनतम दूरी १२७.७९ मिटरसम्म रहनेछ ।

प्रसारण लाइन निर्माणका लागि कुल २९५.४२ हेक्टर जमिन आवश्यक पर्नेछ । त्यसमध्ये टावर निर्माणका लागि ३०.४१ हेक्टर जमिन आवश्यक छ ।

विद्युत मार्गको क्षेत्राधिकारअन्तर्गत २६५ हेक्टर जग्गा जरुरी पर्दछ । सबस्टेसन निर्माणका लागि २१.४१ हेक्टर जग्गामध्ये सात हेक्टर बनलेक सबस्टेसनका लागि र १४.३७ हेक्टर चैनपुर सबस्टेसनका लागि जरुरी पर्नेछ । प्रसारण लाइनको क्षेत्राधिकार ४६ मिटर रहनेछ ।

प्रसारण लाइनको निर्माण कार्य आगामी ५ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । प्रसारण लाइन निर्माण एवम् सञ्चालन गर्दा भूक्षय, बाढी, वायु प्रदुषण आदिद्वारा वातावरणमा उल्लेखनीय प्रतिकूल असर नपर्ने गरी निर्माण गरिनेछ । आयोजनाका बारेमा आवश्यक सुझाव तथा सल्लाह दिन विद्युत विकास विभागले सार्वजनिक सूचना मार्फत आग्रह गरेको छ ।