• Menu

इरानसँग युद्ध अन्त्य गर्ने सम्झौताको खाकामा सहमति भएको ट्रम्पको दाबी, आक्रमण तत्काललाई स्थगित

नेपाल प्रफिट

२०८३ साउन १७, ११:०८

इरानसँग युद्ध अन्त्य गर्ने सम्झौताको खाकामा सहमति भएको ट्रम्पको दाबी, आक्रमण तत्काललाई स्थगित

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वका सहयोगी मुलुकहरू इरानसँगको युद्ध अन्त्य गर्ने सम्झौताको प्रारम्भिक खाकामा सहमत भएको दाबी गर्दै तत्कालका लागि नयाँ सैन्य आक्रमण नगर्ने संकेत दिएका छन् ।

शनिबार सामाजिक सञ्जालमार्फत ट्रम्पले प्रस्तावित सम्झौतामा ‘स्ट्रेट अफ होर्मुज’लाई पूर्ण रूपमा खुला राख्ने र इरानको आणविक खतरा अन्त्य गर्ने विषय समावेश हुने बताएका छन् ।

‘यदि छिट्टै सम्झौता हुने अवस्था बन्यो भने विश्वको भविष्य र समृद्ध इरानका लागि आक्रमण रद्द गर्न म सहमत छु,’ ट्रम्पले उल्लेख गरेका छन्।

उनका अनुसार इजरायलले पनि युद्ध अन्त्यका लागि इरानसँग सम्झौता गराउने अमेरिकी प्रयासलाई समर्थन गरेको छ। यद्यपि, ट्रम्पको दाबीबारे इरानले तत्काल कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन ।

पाँच महिनादेखि जारी द्वन्द्वका बीच ट्रम्पको पछिल्लो अभिव्यक्तिलाई महत्वपूर्ण मोडका रूपमा हेरिएको छ। एक दिनअघि मात्रै उनले इरानलाई वार्तामा आउन दबाब दिन पुनः व्यापक सैन्य कारबाहीको तयारी भइरहेको संकेत दिएका थिए ।

अमेरिका र इजरायलले फेब्रुअरी २८ देखि इरानविरुद्ध सैन्य अभियान सञ्चालन गर्दै आएका छन्। ट्रम्पले त्यसबेला इरानको क्षेप्यास्त्र क्षमता कमजोर बनाउने, आणविक हतियार विकास रोक्ने तथा इरान समर्थित सशस्त्र समूहलाई दिइने समर्थन अन्त्य गर्ने उद्देश्य रहेको बताएका थिए ।

जुन महिनाको मध्यतिर भएको अन्तरिम युद्धविरामपछि स्थायी सम्झौताको अपेक्षा गरिए पनि ‘स्ट्रेट अफ होर्मुज’ क्षेत्रमा जहाजमाथि पुनः आक्रमण भएपछि केही सातामै युद्धविराम भंग भएको थियो ।

साउदी अरबको चिन्ता

ट्रम्पको घोषणा साउदी युवराज मोहम्मद बिन सलमानसँग भएको टेलिफोन वार्तापछि आएको हो। वार्ताबारे जानकार स्रोतका अनुसार युवराजले अमेरिका-इरान द्वन्द्व थप चर्किन सक्ने सम्भावनाप्रति चिन्ता व्यक्त गरेका छन् ।

स्रोतका अनुसार अमेरिकाले इरानको ऊर्जा पूर्वाधार, पुल वा विद्युत् केन्द्रमा ठूलो आक्रमण गरे त्यसको जवाफमा इरानले साउदी अरब तथा अन्य खाडी मुलुकका ऊर्जा पूर्वाधारलाई निशाना बनाउन सक्ने जोखिमप्रति साउदी पक्ष चिन्तित छ ।

युवराजले ट्रम्पसँग इरानविरुद्ध अमेरिकाले चाल्न सक्ने सम्भावित कदमबारे स्पष्ट जानकारी मागेका थिए । ह्वाइट हाउसले दुई नेताबीच वार्ता भएको पुष्टि गरे पनि विस्तृत विवरण सार्वजनिक गरेको छैन ।

यसै साता साउदी अरबले इराकस्थित इरान समर्थित समूहका रसद र हतियार भण्डारणस्थलमाथि अमेरिकी कारबाहीमा सहयोग गरेको थियो। साथै, उसले अमेरिका र इरानलाई पुनः वार्तामा फर्कन आग्रह गर्दै आएको छ।

युवराजले इरानसम्बन्धी रणनीतिबारे छलफल गर्न आफ्ना भाइ तथा रक्षामन्त्री खालिद बिन सलमानलाई वासिङ्टन पठाएका थिए। उनले ट्रम्प र उपराष्ट्रपति जेडी भान्ससँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए।

यसैबीच, ट्रम्पले मंगलबार ह्वाइट हाउसमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग भेटवार्ता गरेका थिए । फेब्रुअरीमा युद्ध सुरु भएयता दुई नेताबीच भएको यो पहिलो प्रत्यक्ष भेट थियो। नेतान्याहुले इरानविरुद्धको सैन्य अभियानलाई निरन्तरता दिन आग्रह गरेको जनाइएको छ ।

निर्वाचनअघि बढ्दो राजनीतिक दबाब

नोभेम्बरमा हुने अमेरिकी मध्यावधि निर्वाचन नजिकिँदै जाँदा इरानसँगको युद्ध ट्रम्प प्रशासनका लागि राजनीतिक रूपमा पनि चुनौतीपूर्ण बन्दै गएको छ। विश्व अर्थतन्त्रमा असर पारेको यो द्वन्द्व अमेरिकी जनमतमा पनि व्यापक समर्थन पाउन सकेको छैन ।

यसै साताको सुरुमा जोर्डनस्थित अमेरिकी सैन्य अड्डामाथि इरानले गरेको क्षेप्यास्त्र आक्रमण अमेरिकी सेनाले विफल पारेपछि ट्रम्पले कडा जवाफी कारबाही गर्ने चेतावनी दिएका थिए ।

शुक्रबार उनले आवश्यक परे इरानमाथि ‘अत्यन्त कडा’ प्रहार गर्ने चेतावनी दिएका थिए। ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले इरानले युद्धविरामसम्बन्धी समझदारी उल्लंघन गर्दै व्यावसायिक जहाज र अमेरिकी सैनिकलाई लक्षित गरी आक्रमण गरेको आरोप लगाएकी छन्।

ट्रम्पको पछिल्लो घोषणाअघि अमेरिकी अधिकारीहरू उच्च सतर्कतामा थिए। अमेरिकी विदेश मन्त्रालयले पनि इरानसँग बढ्दो तनावलाई मध्यनजर गर्दै मध्यपूर्वका १० देशमा रहेका अमेरिकी नागरिकका लागि उच्च सुरक्षा सतर्कता जारी गरेको जनाएको छ ।