• Menu
s

मेरियट इन्टरनेशनलका बोर्ड अध्यक्ष डेभिड मेरियटद्वारा ‘मोक्सी काठमाडौं’ को अवलोकन

नेपाल प्रफिट

२०८३ जेठ २७, बुधबार १२:२५

मेरियट इन्टरनेशनलका बोर्ड अध्यक्ष डेभिड मेरियटद्वारा ‘मोक्सी काठमाडौं’ को अवलोकन

काठमाडौं । विश्वप्रसिद्ध होटल चेन मेरियट इन्टरनेशनलका बोर्ड अध्यक्ष डेभिड मेरियटले काठमाडौंको लैनचौरस्थित ‘मोक्सी काठमाडौं’ होटलको भ्रमण गरेका छन् । नेपालको पर्यटन तथा आतिथ्य क्षेत्रप्रति मेरियट इन्टरनेशनलको प्रतिबद्धता र यस क्षेत्रको विकासलाई कम्पनीले दिएको उच्च महत्वलाई यस भ्रमणले उजागर गरेको होटलले जनाएको छ ।

भ्रमणका क्रममा बोर्ड अध्यक्ष मेरियटसँगै मेरियट इन्टरनेशनलका एसिया प्यासिफिक (ग्रेटर चाइना बाहेक) का अध्यक्ष राजीव मेनन, एसिया प्यासिफिकका प्रमुख सञ्चालन अधिकृत निराज गोविल, एसिया प्यासिफिकका प्रमुख लजिङ प्रोडक्ट तथा सेवा अधिकृत क्रिस्टियानो रिनाल्डी, दक्षिण एसियाका वरिष्ठ उपाध्यक्ष किरण एन्डिकोट, एनआईबीएनका मार्केट उपाध्यक्ष अरुण कुमार तथा दक्षिण एसियाका वरिष्ठ सञ्चालन निर्देशक दिलप्रीत सिंह बिन्द्रासहितको उच्च नेतृत्व टोली सहभागी थियो ।

उच्चस्तरीय प्रतिनिधिमण्डललाई मोक्सी काठमाडौंको टोलीले आफ्नो ब्रान्डको जीवन्त ऊर्जा, सिर्जनशीलता र आतिथ्य संस्कृति झल्किने गरी न्यानो र जोशिलो स्वागत गरेको थियो । स्वागत कार्यक्रमलाई अझ विशेष र मनोरञ्जनात्मक बनाउन होटलका कर्मचारीहरूले आकर्षक ‘फ्ल्यास मोब’ (सामूहिक नृत्य) समेत प्रस्तुत गरेका थिए, जसले मोक्सीको रमाइलो र ऊर्जावान पहिचानलाई प्रस्तुत गरेको थियो ।

स्वागत समारोहपछि मोक्सी काठमाडौंका प्रमुख (क्याप्टेन) सुवर्ण थापासँगै बोर्ड अध्यक्ष डेभिड मेरियटले होटलको विस्तृत अवलोकन गरे । अवलोकनका क्रममा उनले होटलको आधुनिक डिजाइन, विविधतायुक्त खानपान सेवा, सामाजिक अन्तरक्रिया अनुकूल वातावरण तथा विशिष्ट अतिथिमैत्री सुविधाहरूबारे जानकारी लिएका थिए ।

नयाँ पुस्ताका यात्रुहरूलाई लक्षित गर्दै गुणस्तरीय, बोल्ड र स्मरणीय सेवा प्रदान गर्ने मोक्सी काठमाडौंको प्रतिबद्धतालाई यस भ्रमणले थप बलियो बनाएको होटलले उल्लेख गरेको छ । मोक्सी काठमाडौं मेरियट इन्टरनेशनल अन्तर्गत सञ्चालित जीवनशैली (लाइफस्टाइल) मा आधारित होटल हो, जसले काठमाडौंको मुटुमा आतिथ्य सेवाको ताजा, आधुनिक र फरक अनुभव प्रदान गर्दै विशेष पहिचान बनाएको छ ।