काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले देशभरका सवारी साधन, पार्टपुर्जा, वित्तीय सेवा तथा सम्बन्धित उद्योगहरूको एकीकृत प्रदर्शनीका रूपमा ‘नाडा अटो शो २०२६’ को १८औँ संस्करण आयोजना गर्ने भएको छ। सो प्रदर्शनी भृकुटीमण्डपमा यही जेठ १८ गतेदेखि २६ गतेसम्म सञ्चालन हुने छ।
नाडा अटो शोले नेपालका अटोमोबाइल उत्पादक, आयातकर्ता, वितरक, सेवा प्रदायक तथा सम्बन्धित उद्योगलाई आफ्नो नवीनतम उत्पादन, प्रविधि तथा सेवाहरू प्रस्तुत गर्ने अवसर प्रदान गर्ने उद्देश्य राखेको छ। यस प्रदर्शनीमा हजारौँ आगन्तुक, उद्योग व्यवसायी, लगानीकर्ता तथा सञ्चारकर्मीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।
यस कार्यक्रममार्फत अटोमोबाइल क्षेत्रमा नवीनतम उत्पादन, प्रविधि र सेवाको प्रवर्धन गर्दै व्यावसायिक विकासलाई थप प्रोत्साहन गर्ने लक्ष्य लिइएको छ। प्रदर्शनीमा विभिन्न स्टलहरू बुकिङका लागि जेठ १८ देखि २६ गतेसम्म खुला गरिएको छ।
स्टल बुकिङसम्बन्धी विस्तृत जानकारी, आवेदन प्रक्रिया तथा शुल्क लगायतका विवरणहरू प्रदर्शनी व्यवस्थापन कम्पनीबाट प्राप्त गर्न सकिनेछ। आयोजकले समयमै बुकिङ सुनिश्चित गरी यस प्रतिष्ठित प्रदर्शनीको हिस्सा बन्न सबै सम्बन्धित व्यवसायीहरूलाई आग्रह गरेको छ।
कार्यक्रममा सहभागी संस्था तथा व्यवसायीहरूले आफ्ना नवीनतम उत्पादन तथा सेवाहरू व्यापक रूपमा प्रदर्शन गर्ने अवसर पाउनेछन्। साथै, यो प्रदर्शनीले नेपालमा अटोमोबाइल उद्योगको विकास र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
थप जानकारी तथा बुकिङका लागि सम्पर्क:
[email protected]
९८०१५४१५३८ / ९८०१५४१५३९